काठमाडौ, चैत्र २३ - हरेक नेपालीको मुख्य खान्की भात हो । त्यही भात बन्ने चामल कति अस्वस्थकर र गुणस्तरहीन छ भन्नेबारे हामीले नै भेउ पाउन सकिरहेका छैनौं ।
बजारमा उत्पादन तथा म्याद नाघ्ने मिति र मूल्य उल्लेख नगरिएका चामलका बोरा छ्यापछ्याप्ती भेटिन्छन् । यसरी गैरकानुनी रूपमा गुणस्तर खुलाउने 'लेबल' नभएका चामल खुलमखुला बिक्री भइरहे पनि सम्बन्धित निकायले अनुगमन र कारबाहीमा पहल गरेको देखिँदैन । उपभोक्ताका तर्फबाट पनि उजुरी पर्ने गरेको छैन । सरकार र सम्बन्धित निकायले आँखा चिम्लँदै आएका छन् ।
उपभोक्ता संरक्षण ऐन २०५४ ले उत्पादकको नाम, ठेगाना, वस्तुको मूल्य, ब्याच नम्बर, उत्पादन र म्याद सकिने मिति अनिवार्य रूपमा उल्लेख गर्न भनेको छ । कानुनले यी सबै विषय नखुलाई सामान बेच्नु गैरकानुनी भनेर प्रस्ट पारेको छ । यो सरासर ठगी भए पनि सरकार र उपभोक्तावादी संघसंस्थाको आँखा यसमा परेको छैन ।
कतिपय ब्रान्डका चामलका बोरामा उत्पादन भएको मितिले १२ महिनासम्म उपभोग गर्न मिल्ने भनी लेखिए पनि कहिले उत्पादन भएको खुलाउने गरेको देखिँदैन ।
व्यवसायी भने मूल्य, उत्पादन मिति उल्लेख नभएका बोरा भारतबाट भित्रिएको दाबी गर्छन् । 'प्रायः चामल भारतबाट आउँछ । केहीले सीमामै मिल चलाएका छन्,' नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले भने, 'उनीहरूले केही उल्लेख नगरी बेच्छन् । यस्ता बिचौलियाले गर्दा समस्या परेको हो । यस्तो विकृति रोक्न सरकारले अनुगमन गर्नुपर्छ ।' उनका अनुसार भारतबाट ५० भन्दा बढी ब्रान्डका चामल नेपाल भित्रिन्छन् । बिचौलियाले आफूखुसी कुनै ब्रान्डको नाममा ट्याग टाँसी प्याकिङ गरेर बजारमा बेचिरहेको उनको आरोप छ । 'नेपालमा प्याकिङ भएका बोरामा मूल्य, प्याकिङ मिति सबै हुन्छ । प्याकिङ चामल १ वर्षसम्म खान उत्तम हुन्छ,' उनको दाबी छ, 'तर बिचौलियाले गर्दा उपभोक्ता ठगिइरहेछन् । यहाँका व्यवसायी पनि मर्कामा छन् ।' यसबारे अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायत सम्बन्धित निकायमा छलफल भए पनि समाधान नभएको उनले बताए । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले व्यवसायीले बिचौलियाको तर्क गरेर पन्छिन खोजेको आरोप लगाए ।
ऐनमा लेबल खुलाउन प्रस्ट व्यवस्था हुँदाहुँदै व्यवसायीले ठगी गर्दै आएको उनले बताए । 'ऐनमा सबै खुलाउनुपर्ने प्रस्ट व्यवस्था छ,' उनले भने, 'तर त्यसो नगर्नु गैरकानुनी हो, ठगी हो,' तिमिल्सेनाले भने ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका उपमहानिर्देशक विनोदप्रकाश सिंहले खाद्यान्नजस्तो संवेदनशील वस्तु भएकाले अनुगमनलाई थप प्रभावकारी बनाउने बताए । 'कुनै पनि खाद्य वस्तुको मूल्य, जारी मिति र म्याद नाघ्ने मिति उल्लेख गर्नुपर्छ,' उनले भने, 'त्यस्तो किसिमको ठगी गरेको भेटिए बिक्रीमा रोक लगाउँछौं ।' उनले उपभोग्य वस्तुको म्याद हुँदैन भनेर बिक्री गर्नु सरासर ठगी भएको बताए । अनुगमनमा ठगी गरेको फेला परे कालाबजारी ऐनअन्तर्गत कारबाही गरिने पनि उनले जनाए ।
विभागका अनुगमन शाखाका निर्देशक हरिनारायण बेल्बासेका अनुसार कालोबजारीमा
जिल्ला प्रशासनसँगको सहकार्यमा व्यवसायीलाई थुनामा राखेर अनुसन्धान गरिनेछ ।
'यदि ठगी गरेको प्रमाणित भएमा कसुरअनुसारको जेल सजाय र आर्थिक जरिवाना हुनेछ,'
उनले भने ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रमोद कोइरालाले खाद्य प्रविधिअनुसार प्याकिङ भएको चामलको बोरा ३ वर्षसम्म प्रयोग गर्न सकिने बताए । 'राम्रो/सुरक्षित प्याकिङ भएको चामल बोरा ३ वर्षसम्म उपभोग गर्न राम्रो हुन्छ । तर बोरामा उत्पादन मिति, म्याद सकिने मिति अनिवार्य हुनुपर्छ,' उनले भने, 'तीन वर्षपछि खानयोग्य हुँदैन ।'
बजारका सबै क्षेत्रमा ठगी भइरहे पनि अनुगमन गर्ने जिम्मेवारी पाएको विभागले अनुगमन प्रभावकारी बनाउन सकेको छैन । सवारी साधनको स्पेयर पार्टस्मा पनि व्यवसायीले मूल्य च्यातेर बिक्री गरेका छन् । तर विभागको अनुगमन खाद्य, गहना, ग्यास, फोटो स्टुडियो, औषधिलगायतमा मात्रै सीमित छ । अनुगमनका क्रममा दोषी भेटिएका व्यवसायीलाई पनि कारबाही गरिएको छैन ।
यीमध्ये मूल्यसूची, साइनबोर्ड राख्न, लेबल नभएका सामान बिक्री नगर्न, व्यवसाय दर्ता प्रमाणपत्र पेस तथा नवीकरण गर्नलगायत सामान्य निर्देशन दिएर छाडिएको छ । विभाग स्रोतका अनुसार अहिले विभागका अनुगमन निरीक्षकहरू बजारबाट उपभोगहीन खाद्यान्न तथा पेय पदार्थ ओसार्ने र नष्ट गर्ने काममा मात्रै व्यस्त छन् । 'अनुगमनको शैली भएन, काम प्रभावकारी हुन नसकेको हो,' विभाग एक अधिकारी भने ।
उपभोक्ता संरक्षण ऐन, २०५४
९. उपभोग्य वस्तुमा उल्लेख गर्नुपर्ने कुराहरू ः उत्पादकले उपभोग्य वस्तुको लेबलमा देहायका कुराहरू अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ—
(क) उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर
(ख) खाद्य पदार्थ र औषधिजस्ता उपभोग्य वस्तुमा उक्त वस्तुको मिश्रण, त्यसको परिमाण र तौल
(ग) गुणस्तर निर्धारण भएको उपभोग्य वस्तुमा सो वस्तुको गुणस्तर
(घ) उपभोग्य वस्तु उपभोग गर्ने तरिका र सो वस्तु उपभोग गरेबाट हुन सक्ने प्रभाव
(ङ) उपभोग्य वस्तुको मूल्य, ब्याच नम्बर, उत्पादन मिति र उपभोगको म्याद सकिने मिति
प्रकाशित मिति: २०७० चैत्र २३ ०८:२५(www.ekantipur.com/np)
0 comments:
Post a Comment