छारे रोग के हो ?


स्नायुसम्बन्धी एक प्रकारको बेहोस हुने रोगलाई छारे रोग भनिन्छ । तर सबै बेहोस हुने रोग छारे रोग होइन । मस्तिष्कमा भएका ‘न्युरो ट्रान्समिटर’ असन्तुलित भएमा यो रोग देखिन्छ । दिमागको विकासक्रममा वा बनावटमा केही अप्ठेरो छ भने पनि यो रोग लाग्न सक्छ । छारे रोगलाई इपिलेप्सि पनि भनिन्छ ।


गाउँघरमा हात काँप्यो, आँखा फर्कियो, मुख बाङ्गियो भने मात्र छारे रोग भएको भन्ने चलन छ, तर यति मात्र छारे रोगका लक्षण होइनन् । कतिपय अवस्थामा मानिस हिँड्दा हिँड्दै केही समयका लागि अचेत हुने र केही समयपछि पूनः सामान्य अवस्था फर्किनु पनि छारे रोगको कारणले हुनसक्छ । त्यसैले पनि बिरामी कतै बेहोस भएमा तत्काल परिवारका सदस्यलाई खबर गरी जानकारी गराउनका लागि छारे रोगीले आफ्नो परिचयपत्र सधैं बोक्नुपर्छ ।

छारे रोग धेरै प्रकारको हुन्छ । यदि मानिसले बेहोसी अवस्थामा जिब्रो टोक्ने,आँखा पल्टाउने गर्छ भने त्यो कडा खालको छारे रोग हो । तर कतिपय अवस्थामा छारे रोगको खास कारण थाहा नहुन सक्छ । नेपालको सन्दर्भमा वयस्कलाई नाम्ले किराको अण्डाबाट पनि छारे रोगको लक्षण देखिएको छ । कसैकसैलाई मस्तिष्कमा हुने ट्युमर, इन्सेफलाइटिस, मेनेनजाइटिक्स भयो भने पनि छारे रोग देखिन्छ । केही मानिसमा नुनको कमीले पनि छारे रोगको लक्षण देखिन सक्छ र नुनको मात्रा पूरा भयो भने यो रोग आफैं निको हुन्छ । यस्तो प्रकारको छारे रोगमा लामो उपचार गर्नुपर्दैन ।
छारे रोगले दिमागको नसा मर्ने हुन्छ । कतिपय अवस्थामा छारे रोगले मानिसको मृत्यु समेत हुनसक्छ । समयमा नै उपचार गरेमा छारे रोग निको हुन्छ । छारे रोग सम्बन्धि जनचेतना नभएका कारण धेरै मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । अहिले पनि यस सम्बन्धि चेतनाको अभाव देखिन्छ ।
छारे रोगको उपचार त्यसको प्रकार हेरेर गरिन्छ । साधारण किसिमको छारे रोग र बच्चाहरुमा रोग छ भने २/३ वर्षसम्म औषधि दिएर निको पार्न सकिन्छ । यो रोग ७० देखि ८० प्रतिशत बिरामीलाई छोटो समयसम्म ५ देखि १० प्रतिशतलाई लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । तर नेपालमा धेरै बिरामी उपचारबाट बञ्चित छन् । छारे रोगको शल्यक्रिया पनि गर्न सकिन्छ । धेरै जसो बिरामीका लागि औषधी नै उत्तम विकल्प हो । छारे रोगको लक्षण देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरे निको हुन्छ ।
छारे रोग साधारण किसिमको रोग भएता पनि ग्रामिण भेगमा यो रोग सम्बन्धि अन्धविश्वास व्याप्त छ । बिरामीलाई जुत्तामोजा सुँघाउने, धामीझाँक्री देखाउने गरेको पाइन्छ । यसबाट रोग निको हुँदैन । छारे रोगको लक्षण हरेक दिन देखिन्छ भन्ने हुँदैन । उपचार नगरे पनि कसैकसैलाई एकपटक लक्ष्ण देखिएपछि अर्को १ वर्षसम्म लक्षण नदेखिन सक्छ । केटीहरुमा छारे रोग देखिएमा परिवारले लुकाएर राख्ने चलन छ । यसलाई अभिसाप नठानी उपचार तर्फ लाग्नुपर्छ । रोग लुकाउँदै गएमा झन् जटिल बन्दै जान्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ६ करोड मानिसमा छारे रोग लागेको अनुमान छ । नेपालमा भने एक प्रतिशत जनसंख्यामा यो रोग लागेको अनुमान छ ।
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण हुन सक्छ )
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment