मेडिकल जाँचहरु किन गरिन्छ? यसका आवस्यकता र औचित्यहरु



आम जनमानसमा रोग जति जटिल भयो, त्यति नै जटिल त्यसका जाँचहरु हुन्छन् भन्ने सोचाइ रहेको पाइन्छ। प्रायजसो विरामी र उसका परिवारले रोगको पहिचान र निदानका लागि डाक्टरहरुलाई कुनै पनि कसर बाँकी नराखी हुनसक्ने सबै जाँच र उपचार गर्न दवाव दिने गर्छन्। उपचारका लागि भन्नु राम्रो कुरा हो तर रोगको जाँच भनेकै रोगको उपचार हो भन्ने जसरी आफूले देखेसुनेको भरमा यो समस्याको लागी यो, त्यो समस्याको लागी त्यो जाँच गर्ने भनेर डाक्टरहरुलाई दवाव दिनु राम्रो होइन। हाम्रो समाजमा जति धेरै जाँच गरायो त्यति राम्रो डाक्टर रहेछ भन्ने, जति महंगो जाँच गरायो त्यति राम्रो उपचार भएको मान्ने सोचाइ धेरैमा रहेको पाइन्छ। र यदि डाक्टरले आफ्नो क्लिनिकल ज्ञानका आधारमा रोगको पहिचान गरी उपचार शुरु गर्न खोजेमा उसको डाक्टरी ज्ञान र उपचारलाई नै शंकाको दृष्टिले हेर्ने गरिन्छ। यस्तो समस्या मानसिक स्वास्थ्यको क्षेत्रमा अझ बढि हुन्छ, जहाँ रोगको पहिचान र उपचार प्राय: क्लिनिकल समस्याबारे विरामी र उसका परिवारसँगको कुराकानी र विरामीको जाँच आधारमा गर्ने गरिन्छ।

मेडिकल स्कुलमा रोगको पहिचानका लागि विरामीसँग गरिने समस्याबारेको पुछताछ (हिस्ट्री/ History लिनु) र विरामीको क्लिनिकल जाँच (Physical exam/ डाक्टरले गर्ने विरामीको जाँच) लाई बढि प्राथमिकता दिनुपर्छ भनेर सिकाइन्छ र वास्तवमा त्यो ठिक पनि हो किनभने धेरैजसो रोगहरु क्लिनिकल ज्ञानको राम्रो प्रयोगबाट नै पत्ता लगाउन सकिन्छ। तर व्यवसायको नाममा हरेकजसो चोक र गल्लीमा खुलेका ल्याबहरुले हाम्रो वर्तमान मानसिकता र अवस्थालाई दर्शाउँछ। यी व्यापारिक संस्थाहरुले चिकित्सा शास्त्रमा भनिएको आधारमा भन्दा पनि व्यावसायिक लाभका लागि विभिन्न जाँचहरु गर्ने गराउने गर्छन्। अनि विरामी र रोगको उपचार नभएर जाँचको रिपोर्टको उपचार शुरु हुन्छ। “तपाईको जन्डिस थोरै बढेको छ, यो औषधी खाएर पछि फेरी जाँच्न आउनु होला।“ “तपाईको युरिक एसिड थोरै बढि देखिन्छ, यो औषधी खानुहोला।“ “तपाईको पेट दुखेको रहेछ, त्यसैले एउटा भिडियो एक्सरे र इन्डोस्कोपी गर्नुपर्छ।“ आदी आदी
त्यसोभने यी जाँचहरु के साच्चिकै आवश्यक छन् त? साधारण सस्तो औषधी पनि किन्न नसक्ने अवस्था भएको बेलामा के यस्ता जाँचहरु गराइराख्नु आवश्यक हुन्छ? साधारणतया यस्ता जाँचहरुले निम्न लिखित कुराहरुमा सहयोग पुर्याइरहेका हुन्छन्।
१. रोगको पहिचान (डायग्नोसिस/ Diagnosis) मा,
२. रोग र विरामीको अवस्थाको जानकारी दिनमा,
३. मेडिकल स्कुलहरुमा अध्ययन र अनुसन्धानमा
रोगको उपचारका लागि पहिला रोगलाई चिन्नु र बुझ्नुपर्छ। त्यसका लागि विरामीसँग समस्याका बारेमा सोधपुछ गर्ने, विरामीको क्लिनिकल जाँच गर्ने गरिन्छ र माथि भनिएजस्तै धेरैजसो अवस्थामा यो रोगको पहिचानका लागि या त काफी हुन्छ या यो यो रोगहरु हुनसक्छन् भनेर अनुमान लगाउन सकिन्छ र त्यसका आधारमा आवश्यक जाँचहरु गरेर उपचार शुरु गर्न सकिन्छ। क्लिनिकल ज्ञानका आधारमा मात्रै रोगको पहिचान गर्नसकिएको अवस्थामा अन्य जाँचहरु गराइरहनुले विरामी र उनको परिवारमा अनावश्यक आर्थिक भार पर्नुका साथै विरामीलाई अनावश्यक खतरामा पनि पारिरहेको हुन्छ। जस्तै- एक्सरे, सिटी स्क्यान गर्दा विरामीलाई केहि मात्रामा भएपनि हानिकारक विकिरण पर्ने गर्छ। त्यस्तै इन्डोस्कोपी गर्दा खानानलीमा घाउ हुनसक्ने, प्वाल पर्नसक्ने थोरै भएपनि खतरा हुन्छ। त्यसैले जाँचहरु गराउँदा फाइदा बेफाइदा राम्रोसँग विचार गरेर मात्रै गर्ने गर्नुपर्छ, जसले गर्दा विरामीलाई अनावश्यक खतरा पनि नपुगोस्, अनावश्यक खर्च पनि नहोस् र रोगको बारेमा पनि जानकारी मिलोस्।
रोगको पहिचान गरेर उपचार शुरु गरीसकेपछि पनि रोगको अवस्थाको बारेमा जानकारी पाउन, रोगको हुनसक्ने जटिल अवस्थाहरु आएको छ छैन, रोगले भविष्यमा कुन रुप लिनसक्छ (प्रोग्नोसिस/ prognosis) भन्न जाँचहरु गर्नुपर्ने हुन्छ। जस्तै- मधुमेह रोगको पहिचान भएर उपचार शुरु गरिसकेपछि पनि नियमित रुपमा रगतमा सुगरको मात्रा हेरिरहनुपर्ने हुन्छ। तर यदि कुनै जाँचले विरामीको उपचारमा वा अवस्था बारे जानकारी दिन केहि मद्दत पुर्याउदैन भने त्यो जाँच गरेर विरामी र परिवारलाई अनावश्यक सास्ती दिनु मेडिकल इथिक्समा पर्दैन। किनभने यो पेशा व्यापार गर्ने ठाँउ होइन।
कहिलेकाहि जाँचहरु अध्ययन र अनुसन्धानका लागि गर्नुपर्ने हुन्छ। विरामीको अवस्था सुधारको लागि, रोगको उपचारका लागि ती जाँचहरुको रिपोर्टले केहि फरक पार्दैन तर भविष्यमा अन्य विरामीमा हुने यस्तै रोगहरुको उपचारको अनुसन्धानका लागि यस्ता जाँचहरुले फाइदा पुर्याइरहेका हुन्छन्। यस्ता जाँचहरु गर्दा यो कुराको जानकारी विरामीलाई गराउनुपर्छ र विरामीबाट त्यसको लिखित स्वीकृति (written consent) लिएको हुनुपर्छ। साथै विरामीलाई त्यसको आर्थिक भार पर्नु हुदैंन।
यी माथिका अवस्थाहरु बाहेक अन्य उदेश्यले गर्ने गराइने जाँचहरु अनइथिकल (unethical) हुन्। आजको टेक्नोलोजीको दुनियामा डाक्टरहरु जाँचहरुमा यति भरपर्न थालेका छन् कि उनीहरु विरामीसँगको सामान्य कुराकानीले पत्ता लाग्ने रोगहरुमा पनि अनावश्यक जाँचहरु गराउने गर्छन्। विरामीहरुसँगको छोटोमिठो कुराकानी, सान्त्वनाका केहि शब्दहरु, न्यानो स्पर्शले उनीहरुको समस्या कम गर्न र उपचार गर्न कति सहयोगी हुनसक्छ भन्ने कुरा बिर्सदै गइरहेका छन्। कति नाम चलेका डाक्टरहरुका बारेमा मैले सुनेको छु उनीहरु विरामीलाई राम्ररी हेर्दा पनि हेर्दैनन्, कुरा गर्दा पनि गाली गरेको जसरी गर्छन् र खालि जाँचहरुका रिपोर्टका आधारमा औषधी लेख्छन्। त्यस्तै पैसाको लागि डाक्टरहरु अनावश्यक जाँचहरु गराउँछन् भनेर कति आरोपहरु लाग्ने गर्छन्, जुन पूर्णरुपमा असत्य पनि होइन। विरामी र उनका परिवारसँग राम्रोसँग कुरा नगर्नु, राम्रो तरिकाले कुरा बुझाएर क्लिनिकल जाँच नगर्नु, अन्य जाँचहरुको किन आवश्यक छन्, तिनका रिपोर्ट के आयो, त्यसले विरामीको अवस्थाबारे के जनाउँछ भन्ने कुरा नबुझाउनु, उपचारका के के विकल्पहरु छन्, रोगको र औषधी उपचारको के कस्ता जटिल अवस्था खराबीहरु आउनसक्छन् भनेर जानकारी नदिनु र समग्रमा विरामीको उपचारमा विरामी र उनका परिवारलाई सहभागी नगराई रोबोटले जस्तो जाँचहरुको रिपोर्ट हेर्दै औषधी मात्रै लेख्ने गर्नाले यस्ता आरोपहरु लाग्ने गर्छन्।
जुनसुकै अस्पतालमा दिनहुँ देखिने भीडबाट अनुमान लगाउन सकिन्छ कि डाक्टरहरु कति व्यस्त हुन्छन् भनेर। तर यो कुराले विरामीसँग गर्नुपर्ने कुराकानी, जानकारी र सान्त्वनाका शब्दहरुको वार्तालापमा वाधा पार्नु हुदैंन। र यसको लागि उपभोक्ता समूह विरामी र उनका परिवारमा पनि चेतनाको आवश्यकता पर्छ। किनभने रोगको पहिचान र उपचारका लागि जाँचहरु गर्नैपर्छ भन्ने मानसिकताले राम्रो गर्छु भन्ने डाक्टरहरुलाई पनि अनावश्यक जाँचहरु गराउन दवाव पर्ने गर्छ।
(यो लेख ११ अप्रिल २०११ को 'दि काठमाडौं पोस्ट' मा प्रकाशित डा. रवि शाक्यले लेख्नु भएको 'Medical Investigations: their relevance in treatment' लेखका आधारमा लेखिएको हो। उहाँ हाल मानसिक रोग विशेषज्ञको रुपमा मानसिक अस्पताल, लगनखेल मा कार्यरत हुनुहुन्छ। यो लेख लेख्न सहयोग पुर्‍याउनु भएकोमा उहाँलाई धेरै धेरै धन्यबाद्)Dr. Bhagwan Koirala
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
एक शेयर गर्न नबिर्सनूहोला"
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment