अहिलेसम्म संसारमा यस्तो कुनै यन्त्रको आबिस्कार भएको छैन जसले मानिसको मृत्युको भविष्यवाणी गर्न सकोस् ।तर, हालै गरिएको एक अध्ययनले उठबस गरी गरिने ब्यायामले मानिसको मृत्युको भबिष्यवाणी गर्न सक्ने दावी गरेको छ ।यो व्यायामको माध्यमबाट कुनैपनि मानिस कति वर्षसम्म बाँच्दछ भन्ने कुराको अड्कल काट्न सकिने अनुसन्धानकर्ताहरुको भनाइ छ ।
विरामीको लचकता तथा शक्तिको मापनका लागि ‘बस्ने-उठ्ने व्यायाम’को परीक्षण गरेका चिकित्सकहरुले यस्तो निष्कर्ष निकालेका छन् ।उनीहरुले व्यायामका आधारमा अंक प्राप्त गर्ने स्कोरिङ प्रणालीको विकाश गरेका छन् । व्यायाममा कुल १० पूर्णाङ्ग निर्धारण गरिएको हुन्छ र व्यायामकर्ताले गरेको व्यायामको मात्रा तथा गुणका आधारमा उसलाई अंक दिइन्छ ।
यस्तो व्यायाममा ३ वटा वा सो भन्दा कम अंक प्राप्त गर्ने मानिसहरु ६ वर्षभित्रैमा मर्ने सम्भावना ८ नम्बर पाउने भन्दा ५ गुणा बढि रहेको शोधकर्ताहरुको ठहर छ ।ब्राजिलको गामा फिल्हो विश्वविद्यालयका शोधकर्ता क्लाउडियो गिल अराउजु सहितको टोलीले सिटिङ राइजिङ टेस्ट अर्थात् एसआरटी नामको यो व्यायाम विधिको विकाश गरेका हुन् । यो विधि सुरुमा खेलाडीहरुको लचकता मापन गर्नमा प्रयोग गरिएको भएपनि हाल यसलाई विरामीको आयु मापनमा समेत उपयोग गर्न सकिने परीक्षण उनीहरुले गरेका छन् । मांशपेशीलाई सन्तुलनमा राख्न तथा दीर्घजीवनका लागि मानिस सक्रिय भैरहनुपर्ने शोधकर्ताहरुको भनाइ छ ।
मानिस बुढो हुँदै जाँदा मांशपेशी कमजोर हुँदै जाने र जिउको सन्तुलन गुम्दै जाने हुन्छ, जसका कारण हामी बसउठ गर्दा पनि ढल्न थाल्छौँ । मानिसको कमजोरी मापनका लागि यो विधि सबैभन्दा सरल हुने तथा कुनै उपकरणको आवश्यकता पनि नपर्ने भएकाले सबैले यसलाई प्रयोगमा ल्याउन सक्ने शोधकर्ता बताउँछन् ।युरोपियन जर्नल अफ कार्डियोलोजीमा छापिएको रिपोर्ट अनुसार शोधकर्ताहरुले ५१ देखि ८० वर्ष उमेरका २ हजार २ जना वयस्क मानिसहरुमा यो परीक्षण गरेका हुन् । रियोको क्लिनीमेक्स व्यायाम चिकित्सा क्लिनिकमा यस्तो परीक्षण गरिएको हो ।
व्यायामका क्रममा बस उठ गर्दा कुर्सी वा घुँडा समाएको पाइएमा हरेक पटकमा १ अंक घटाइन्थ्यो भने सन्तुलन गुमाएमा आधा अंक घटाइन्थ्यो ।त्यसक्रममा व्यायाममा कुल १० मा ८ भन्दा कम अंक पाउनेहरु आगामी ६ वर्षभित्रमा मर्ने सम्भावना बढि अंक पाउनेको भन्दा दोब्बर देखियो ।त्यस्तै ३ भन्दा कम अंक पाउनेहरु ६ वर्षभित्रमा मर्ने जोखिम ५ गुणा बढि रहेको शोधकर्ताहरुको निष्कर्ष छ ।
शोधकर्ताहरुका अनुसार ५१ देखि ८० वर्षको उमेरमा मानिसको जिवन मरणको कुरा उसको मांशअस्थिपञ्जर स्वास्थ्यमा निर्भर गर्छ । त्यसैले मांशपेशी तथा अस्थीपञ्जर कमजोर भएका मानिसहरु यस्तो बसउठ व्यायाम गर्न असमर्थ हुने भएकाले उनीहरुको मृत्यु नजिक आएको अनुमान सहजै गर्न सकिन्छ ।शोधकर्ताहरुका अनुसार व्यायाममा प्राप्त गर्ने अंक १ ले बढ्दा बढि बाँच्ने दर २१ प्रतिशतले बढ्छ ।
0 comments:
Post a Comment