डा. सि पी सेडाइ काठमाडौँ, २६ मे। ३५ वर्षीया कमलालाई जहिले पनि दिक्क लागि रहन्छ । राति निद्रा पर्दैन । काम गर्ने जाँगर छैन । पटक–पटक सुस्केरा हाल्दै कोठामा दिन बिताउँछिन । उनलाई बाँच्ने रहर छैन, तर आफ्ना तीन सन्तानको माया चाहिँ छ । २ वर्षअघि श्रीमानको निधनपछि उनका आशा निराशामा परिणत भएका थिए । आजकल उनलाई कसैसँग बोल्ने मन छैन । कहिलेकाहीँ उनी आफ्ना छोराछोरीसँग पनि रिसाउँछिन् । उनलाई रेडियो, टिभी सुन्ने र हेर्ने पनि पटक्कै जाँगर छैन । एक महिना अघि छाति दुखेपछि उनी अस्पताल भर्ना भइन् तर कुनै खराबी देखिएन । उनका हातखुट्टा झम्झम् गर्छन्, टाउको भारी हुन्छ, ढाड दुख्छ । आजकल सानातिना कुरा पनि बिर्सन थालेकी छन् । खुसी हुन पटक्कै सक्दिनन् । शरीरमा फूर्ति पटक्कै छैन।
२० वर्षीया लक्ष्मी प्लस टु पढ्दैछिन् । तर, परीक्षामा दुईपटकसम्म फेल भएपछि उनलाई सबैले गाली गरे । साथीहरु उनीभन्दा निकै माथि पुगिसकें । आजकल लक्ष्मी कम बोल्छिन् । धेरैजसो एक्लै बस्न रुचाउँछिन् । उनलाई रेडियो, टिभितिर पनि रूची छैन । सानो कुरामा पनि रिसाउछिन् र गहभरी आँसु पार्छिन् । उनमा जोस जाँगर पटक्कै छैन। मनमा आँट पनि छैन । सम्झना शक्ति घटेको महसुस गर्छिन् । राति निन्द्रा नलाग्ने समस्या छ । उनी टाउको दुखेको, मुटु ढुकढुक गरेको, हातखुट्टा झमझम गरेको र आफू कहिल्यै फ्रेस नभएको महसुस गर्छिन् । उनको यो समस्याले गर्दा उनका बाबुआमालाई समेत चिन्तित तुल्याएको छ । बाँच्नुभन्दा मर्न पाए राम्रो हुन्थ्यो भन्ने सोचाई मनमा आउछ । उनलाई आफ्नो रोगबारे केही थाहा छैन तर उनलाई अब बाँचिदैन जस्तो लाग्छ । छानोबाट हामफालेर आत्महत्या गर्ने कोशिश पनि गरिसकिन् उनले । तर, परिवारले रोके । त्यसपछि अस्पताल भर्ना गरिएकी उनलाई औषधि, इसिटि तथा साइकोथेरापी गराइएको छ । अब उनको मन पहिले जस्तै खुशी भएको छ । काम गर्ने जाँगर बढेको छ । यस्ता समस्यलाई डिप्रेसन भनिन्छ । जुन निकै मान्छेमा पाइन्छ।
आजकाल धेरै मानिस डिप्रेसनको समस्या लिई आउने गरेका छन् । नेपालको राजनैतिक अवस्था र आर्थिक संकटले पनि मानिसका यस्ता समस्या बढाएका छन् । डिप्रेसन बढ्दै जाँदा मानिस आत्महत्या गर्ने अवस्थासम्म पुग्छ । ७० प्रतिशत आत्महत्या डिप्रेसनकै कारण भएको पाइएको छ । पीडादायी घटनाबाहेक डिप्रेसन हुनुमा बंशानुगत कारणले पनि भूमिका निर्वाह गरेको पाइन्छ । यहाँ स्मरणीय कुरा के छ भने डिप्रेसनले ग्रस्त भएर पनि मानिसलाई रोग लागेको थाहा हुँदैंन । सोहीकारण अर्को रोगको आशंका गर्दै पटक–पटक डाक्टरकहाँ पुग्ने गरेका र रोग पत्ता नलागेका उदाहरण प्रशस्त पाइन्छन् । छाति तथा पेटको रोग तथा हातखुट्टा झमझम गर्ने समस्या भएको भन्दै बिरामी धेरै डाक्टरकहाँ पुग्छन् । कोहीचाहिँ धामीझाक्रीकहाँ पुग्छन् । यो रोग २०(२५ प्रतिशत मानिसमा देखा पर्छ ।
लक्षण
- २ हप्ताभन्दा बढी समयसम्म दिक्क लागिरहने ।
- रून मन लाग्ने, निराश हुने ।
- एक्लै बस्न रूचाउने ।
- झर्को लाग्ने, दिक्क मान्ने ।
- बोल्न मन नलाग्ने ।
- छटपटी हने, छाति तगा पेट दुख्ने, हातखुट्टा झमझम गर्ने, पैताला तथा तालु पोल्ने, मुख सुक्ने
- आत्मग्लानी हुने ।
- भूत, वर्तमान र भविष्यबारे नकारात्मक सोचाई रहने ।
- निदाउन गाह्रो हुने, निद्रा कम पर्ने, बिहान चाँडै ब्युँझने ।
- खानामा रूचि नहुने ।
- शारीरिक सम्पर्क गर्न रूचि नहुने ।
- आफúलाई बेकामको सम्झने, टाउको दुख्ने, स्फूर्ति नआउने ।
- मर्न पाए हुन्थ्यो भन्ने सोचाई आउने, कसै–कसैले आत्महत्यासमेत गर्छन् ।
- अनावश्यक कुरामा धेरै शंका मान्ने र कानमा आवाज आउने । डिप्रेसन यो रोग महिलामा बढी हुन्छ ।
डिप्रेशन कति प्रकारका हुन्छन् ?
- न्यूरोटिक डिप्रेसन
- साइकोटिक डिप्रेसन
- छटपटि गर्ने डिप्रेसन
- नबोली, नचली बस्ने डिप्रेसन
- बच्चामा पाईने डिप्रेसन
- वयस्कमा पाईने डिप्रेसन
- बुढेसकालमा पाईने डिप्रेसन
- जाडो महिनामा मात्र हुने डिप्रेसन
- छोपिएको डिप्रेसन
- डिस्थाइमिया डिप्रेसन
- दोहोरिएको डिप्रेसन आदि
डिप्रेसनका बिरामी कस्ता समस्या लिएर आउछन् ?
- बिरामीहरु आफुलाई टाउको दुख्ने रोगको लक्षण बताउछन् ।
- कतिपय बिरामी आफूलाई क्यान्सर लागेको शंका गर्छन् ।
- कोही घाँटीमा केही अड्कियो भनी आत्तिन्छन् ।
- कोही यौन अंगको समस्या तथा यौनेच्छामा कमी भएको बताउछन् ।
- कोही बिरामी वारम्बार पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउंछन् ।
- कोहीचाहिँ मुटुको रोग लाग्यो भन्दै मुटु रोग विशेषज्ञकहाँ पुग्छन् ।
- कोही ढाड दुख्ने, जोर्नीमा दुख्ने समस्याको सिकायत गर्छन् ।
- कोही खाना अपच, पाचन शक्ति कम भएको शिकायत गर्छन ।
- कोही काम्ने र बक्ने गर्छन् र बोक्सी लागेको विस्वास गर्छन् ।
- कोही अचानक बेहोस भएको बताउछन् ।
- डिप्रेसनका विरामी एक्लै शान्त ठाउँमा बस्न रूचाउछन् ।
- बढी चिन्ता गरिरहने र आफ्नो जीवनदेखि नै हरेस खाएका हुन्छन् ।
कसरी मानसिक रुपमा स्वस्थ्य बन्ने ?
१. कहिलेकाँही कुनै घटना परिस्थिति तथा वाध्यता पछि मानिसको मन भौतारिन सक्छ । यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहनुहुँदैन । बरु मन परिवर्तन गर्नुपर्छ, कुनै नराम्रो अनुभव मनमा लिईरहँदा हाम्रो मष्तिष्कमा समेत असर पु¥याउँछ । शरीर तात्छ, मुटुको धडकन बढ्छ र छटपटि हुन्छ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने ।
२. अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने । हामी हाम्रो प्रगति चाहन्छौं, यो राम्रो पक्ष हो । तर हामीमा केही गलत धारणा पनि रहन सक्छ । अर्काले प्रगति गर्दा आफूलाई नकारात्मक मुल्यांकन गर्ने बानी असाध्यै नराम्रो हो । त्यसैले मनलाई ठुलो पार्नुपर्छ, संकिर्ण पार्नु हँुदैन । धेरै मानिस यस्ता समस्याबाट पिरोलिएका हुन सक्छन् । जसले गर्दा मनमा अशान्ति फैलन्छ, हामीलाई मनोरोग लाग्न सक्छ । हामी आफूभन्दा सानालाई कसरी सहयोग गर्ने र आफूसरहको प्रगतिमा साथ दिनुपर्छ, नकि आफूलाई अबमूल्यन गर्ने होईन ।
३. पूराना रुढिवादी कुरामा विस्वास गर्नु हुदैन । बाटो हिड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्ने गलत विश्वास छ । त्यसैले यस्ता वस्तु देख्दा मन बेचैन बनाउन हुँदैन, मन ढुक्क पार्नुपर्छ । किनभने यस्ता कुरामा कुनै सत्यता हुँदैंन । राशिफल हेराउने, भूतप्रेत बोक्सी युगको अन्त्य भइसक्यो । त्यस्तै यस्ता कुरामा चिन्ता लिई समय बरबाद गर्नुहुँदैंन । बरु सफा पानी, ताजा खानेकुरा खाने, राती बाटोमा हिड्दा भूत लाग्छ भन्दै मन डराएर ढुङ्गोदेखि तर्सेर पनि मानिस बिरामी हुन्छन् । त्यसैले पूराना गलत चलन पनि हटाउनुपर्छ ।
४. हरेक काममा खुसी, सुखि तथा सन्तुष्ट बन्ने । दैनिक जीवनमा काम गर्दै जाँदा कहिले सफल भइन्छ, कहिले असफल । असफल हुँदैंमा हतास हुनुहुँदैन, बरु असफलताको कारण पत्ता लगाई सफलताको बाटोमा फेरि अगाडि बढ्नुपर्छ । निराश हुनुहुँदैन । अरुसंग पनि सरसल्लाह लिनुपर्छ । कहिलेकाँही हाम्रा अगाडि समस्या नै समस्या तेर्सिएर बसेका हुन्छन् । यस्तो अवस्थामा आत्तिनु हुँदैंन । कतिपय समस्या आफँै पनि समाधान भएर जान्छन् । ३, ४ महिनापछि आउने समस्यालाई लिएर पहिल्यै चिन्तित हुनुहुँदैन । बरू देखिएका समस्यालाई एउटा योजना बनाई यो पछि यो गर्छु भनी योजना बनाई अघि बढ्नुपर्छ । कतिपय मिडियाले राम्रो कुरालाई पर्दा पछाडि राखी नराम्रो कुरालाई प्रचार गर्छन् जसले गर्दा सर्वसाधारणमा बिग्रियो, भत्कियो, बेकार छ जस्ता भावना आउन सक्छ । तर वास्तविकता त्यस्तो हुँदैन । त्यसैले धेरै टीभी, रेडियो हेर्न सुन्न हुँदैन ।
५. जे छ त्यसमा सन्तुष्ट बन्ने तर मेहनत गर्न नछाड्ने । धेरै मानिस आफू कहाँबाट आएको भन्ने कुरा पनि बिर्सन्छन्, विगतलाई बिर्सन्छन्, वर्तमानमा सन्तोष लिन चाहँदैनन्, किनभने समय पार गदै जाँदा ठुलो उन्नति भएको पनि बिर्सन्छन् र सधै असन्तोष भईरहन्छन् । विगतमा आफू कुन अवस्थामा थिएँ, अहिले कुन अवस्थामा आइपुगे भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ । धेरैजसो मानिस ठूलो प्रगति गर्दा पनि क्षणिक आनन्द लिन्छन्, त्यसले मनमा सन्तोष दिएको हुँदैन त्यसैले हामीले सन्तोष लिन सिक्नुपर्छ । तर मिहिनेत गर्न छाड्नु हँुदैन । पूराना असफलता केलाउँदै लक्ष्यमा पुग्नुपर्छ ।
६. लागुपदार्थ तथा दुव्र्यसनबाट अन्य मानसिक रोग लाग्ने सम्भावना भएकाले यस्ता वस्तुबाट टाढा रहने ।
७. दैनिक जीवनमा स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ । समाजमा ठूलाले सानालाई हेप्ने, आफूमात्र समाजमा प्रतिष्ठित बन्न खोज्ने, अर्कालाई उचित ब्यवस्था मिल्नबाट अवरोध गर्ने प्रवृत्ति पनि पाइन्छ । यस्तो प्रवृत्ति आपराधिक मानिन्छ र यसलाई अन्त्य गर्नुपर्छ । समाजमा स्वस्थ प्रतिस्पर्धा भएमा सबै मानिसले उत्तिकै क्षमता विकास गर्न सहयोग मिल्छ । कसैलाई डर हँुदैन, सबैको कल्याण हुन्छ ।
८. अति नैतिकवान नबन्ने तथा अरूबाट पनि त्यस्तो आशा नगर्ने । समाजमा कोही मानिस अति नै नैतिक हुन्छन् । यस्ता मानिस हरेक काममा अति नै सचेत हुन्छन् । अरुलाई कुनै प्रकारको मर्का नपरोस् भनी हरेक क्षणमा ध्यान पु¥याउछन् । तर समाज त्यस्तो छैन । समाजबाट यस्ता मानिसले धोका पाउँछन् र मन दुखाउन पुग्छन । सोहीकारण मनोरोग लाग्न पुग्छ । त्यसैले हामी केही हदसम्म तलमाथि हुनैपर्छ । केही मानिसलाई आफूले गरेको बाहेक अरूले गरेको काममा चित्त बुझ्दैन । त्यसैले यस्ता मानिस अरूले गरेको काम सच्याउने गर्छन् । यस्तो हुँदा दैनिक जविनमा अप्ठेरो महसुस हुन्छ । त्यसैले केही हदसम्म अर्काले गरेको कामलाई पनि उचित स्थान दिनुपर्ने हुन्छ । समाजमा अति नैतिक भई बाँच्न गाह्रो हुन्छ, त्यसैले आफू पनि परिवर्तन हुनुपर्छ र समाजअनुसार चल्नुपर्छ ।
९. मनका कुरा अरूलाई भन्ने बानी गर्ने। हामीमा ठुलो समस्या आउँदा पपनि अरूलाई नभन्ने बानी हुन्छ जसले गर्दा मनमा अशान्ति फैलन्छ । हावा भरिएको प्रेसर कुकर झैँ बिस्फोट हुने वा अचानक सिठ्ठी लागेर ठूलो हलचल हुनेजस्तो हामीभित्र पनि हलचल हुन सक्छ । काम नबने हातखुट्टा नचल्ने भइ हामी बिरामी पर्छौ । आफ्नो मनको वेदना अरूका सामु व्यक्त गर्दा मन शान्त हुन जान्छ ।
१०. पहिले–पहिले मानसिक रोग भनिन्थ्यो तर अहिले मनोरोग भनिने गरिन्छ । मनोरोग भनेको टेन्सन हुनेदेखि कडा रोग सिर्जोफोनियासम्म पर्छ । अति सामान्य रोगदेखि कडा रोगसम्मका बिरामी यसमा पर्छन् । डिप्रेसन रोग लागेका बिरामीमा यस्तै चिन्ता हुन्छ कि मेरो दिमाग नै आउट हुन्छ तर त्यस्तो हुदैन । त्यसैले आत्तिन हुँदैन । सामान्य मनोरोग लागेका बिरामीले अनावश्यक चिन्ता लिनु हुँदैन ।
१०. पहिले–पहिले मानसिक रोग भनिन्थ्यो तर अहिले मनोरोग भनिने गरिन्छ । मनोरोग भनेको टेन्सन हुनेदेखि कडा रोग सिर्जोफोनियासम्म पर्छ । अति सामान्य रोगदेखि कडा रोगसम्मका बिरामी यसमा पर्छन् । डिप्रेसन रोग लागेका बिरामीमा यस्तै चिन्ता हुन्छ कि मेरो दिमाग नै आउट हुन्छ तर त्यस्तो हुदैन । त्यसैले आत्तिन हुँदैन । सामान्य मनोरोग लागेका बिरामीले अनावश्यक चिन्ता लिनु हुँदैन ।
(डा. सेडाइ, नशा तथा मानसिक रोग बिशेषज्ञ हुन्)
0 comments:
Post a Comment