रामप्रसाद ढुंगेल । १५ सेप्टेम्बर २०१४ – झापा जिल्ला, दमक नगरपालिका–२, खरखरेका प्रेमकुमार गुरागाईं र झापा हल्दिबारी–५ का प्रकाश श्रेष्ठ केही वर्षअघि तत्कालीन माओवादीकै भाषामा भन्नुपर्दा ‘वर्गीय दुष्मन’ थिए । माओवादीले थालेको सशस्त्र युद्धको पक्षमा प्रेम थिए भने सशस्त्र प्रहरी बलका तत्कालीन हवल्दार थिए प्रकाश । त्योबेला जहाँ भेटे पनि एकले अर्कालाई मार्ने र त्यसका लागि आफू मर्न पनि तयार थिए ।
सशस्त्रका प्रकाशलाई माथिल्ला अफिसर र विद्रोही पक्षका प्रेमलाई पनि आफ्ना कमान्डरको उस्तै आदेश थियो । तर, अपरेसनको क्रममा झापादेखि पाँचथरका भित्री गाउँगाउँ प्रहरी टोलीमा करिब पाँच वर्ष पेट्रोलिङमा डुल्दा पनि प्रकाश र प्रेमको जम्काभेट हुन सकेन । उता, तत्कालिन विद्रोहीकै भाषामा भन्दा ‘सरकारका पाल्तु कुकुर’ लाई जहाँ भेटे पनि सिध्याउने प्रेमको नीति पनि प्रकाशलाई नभेटेपछि काम लागेन ।
जसै माओवादी शान्ति प्रक्रियामा आयो त्यही बेलादेखि कुनै समयका कट्टर शत्रुका रूपमा रहेका प्रेम र प्रकाशको दैनिकी फेरिएको छ । अहिले उनीहरू दुवै जना एउटै परिवारजस्तै भएर बसेका छन् । एउटै कोठमा बस्छन् । एउटै छ भान्सा । एउटै छ पोसाक पनि । एकै समयमा ड्युटी जान्छन् अनि फर्कन्छन् पनि । प्रेमले बिहान खाना पकाए प्रकाश बेलुका पकाउँछन् । दुवै जना मिलेर भाँडाकुँडा तथा कोठा सफा गर्छन् । त्यो बेला परस्पर विरोधी लक्ष्य लिएका प्रेम र प्रकाश दुवैको अहिले एउटै छ लक्ष्य । त्यो हो पैसा कमाएर परिवारलाई सुख दिने ।
२०५४ सालमा जिल्लामा अनेरास्ववियु क्रान्तिकारीको जिल्लाकै पहिलो विद्यालय स्तरीय कमिटी गठन हुँदा प्रेम हिमालय मावि दमकमा संगठित भएको सम्झन्छन् । त्यसपछि वार्ड स्तरीय कमिटीदेखि छापामार युद्धमा तत्कालिन शाही सेना र सशस्त्र प्रहरीसँग मोरङको जाँतेमा दोहोरो भिडन्त गरेको प्रेमको आफ्नो लामो युद्धकथा छ जो प्रेमले प्रकाश र अन्य सहकर्मीलाई बेलाबेला सुनाउँछन् । उपनाम क्षितिज राखिएका प्रेमले सम्झिए, ‘त्यो भिडन्तमा हाम्रा तर्फ ५ जनाले वीरगति पाएका थिए भने हामीले राज्यका २० जनालाई मारेका थियौं ।’ उक्त भिडन्तमा ९ थान एसएलआर र केही एल.एम.जी हात पारेको पे्रम स्मरण गर्छन् । शान्ति प्रक्रियासँगै वाइसिएल नगर उपाध्यक्षसम्म भएका प्रेम उर्फ क्षितिज आफ्नो माउपार्टीमा अवसरवादीहरूको हालिमुहाली भएपछि पार्टीप्रति विरक्तिएको बताउँछन् ।
पार्टीले कुनै भूमिका नदिएपछि पुख्र्यौली सम्पत्ति बेचेर नेपालमै यातायातको क्षेत्रमा हात हाले पनि असफल भएका प्रेमसँग निजी विद्यालयमा क्षिक्षण समेत गरेको लामो अनुभव पनि रहेछ । पहिले दमक नगरमा माओवादीकै विरोध गर्नेहरु अहिले पार्टीको नेतृत्वमा पुग्न थालेको आफ्नै आँखाले देखेपछि रूँदैरूँदै विदेश जानुपरेको बताउँछन् प्रेम । आफ्नो विगतप्रति अलिकति आत्मग्लानि र अलिकति गर्व रहेको रमाइलो अनुभव दुवैजनासँग पाइयो । प्रेम भन्छन्, ‘देशको राजनीतिक परिवर्तनमा थोरै भए पनि म र मजस्ता धेरैको योगदान छ तर हाम्रो काँधमा टेकेर नेताहरू माथि पुगेर व्यक्तिगत स्वार्थपूर्तिमा लागेका छन्, हाम्रो सपना त्यो थिएन, समानताका लागि लडेका थियौं हामी ।’ कुरैकुरामा भावुक हुँदै प्रेमले युद्धमा मारिएका विद्यार्थी नेता रमेश सुवेदी र विष्णु सुब्बालाई सम्झिदै भने, ‘बाच्नुपर्नेहरू नेताहरू मारिए, मर्नुपर्ने नेताहरू बाँचेका छन् ।’
उता, सशस्त्र प्रहरी बलका तत्कालीन हवल्दार प्रकाश आफूले त्यो बेला नुनको सोझो गरेको मात्र बताउँछन् । २०५५ सालमा सशस्त्र प्रहरी बलमा भर्ना भई दकमस्थित पाथीभरा बेसक्याम्प स्थापना गर्न आफ्नो रगत र पसिना मिसिएको प्रकाशको लामै कथा छ । माओवादी आक्रमणको डरत्रास र साथीभाइको लहैलहैमा जागिर छाडेकामा प्रकाशलाई पछुतो छ । ‘सँगैका साथी इन्सपेक्टर भएकाछन्’ प्रकाशले भने, ‘आफ्नो त हल्दारभन्दा माथि जान कर्ममै रहेनछ ।’
माओवादीको डर र आफ्ना समकालीनहको विदेशी तमकझमक देखेर सशस्त्रको जागिरबाट राजीनामा नदिई भागेर विदेश हिँडेका प्रकाशले यसभन्दा अगाडि पाँच वर्ष मलेसियामा बिताइसकेका रहेछन् । मलेसियाको रमझम छाडेर नेपाल आई विवाह गरी एक छोराको बाबु बनेपछि अझ धेरै कमाउने मोहमा ६ महिनाअघि यूएई छिर्दा प्रकाशको भेट प्रेमसँग भएको हो । अहिले दुबै जना यूएईस्थित एक सेक्युरिटी कम्पनीमा गार्डका रूपमा काम गर्छन् ।
कुनैबेला देशका सारा समस्याहरू समाधान गर्ने सपना बोेकेका उनीहरु परिवारका समस्या समाधान गर्नु नै पहिलो कर्तव्य भन्ने निष्कर्षमा पुगेको बताउँछन् । सोही कम्पनीमा कार्यरत माओवादीका पूर्व कार्यकर्ता सुरज घिमिरे भन्छन्, हाम्रा अधिकांश नेताहरु पनि देश बनाउने बहानामा परिवारकै नाममा राजधानीमा महल ठड्याउँदै छन् रे, उनीहरू त परिवारकै हितका लागि काम गरिरहेका छन् भने हामीले मात्र किन देशको चिन्ता गर्नु ? उनले अगाडि भने, ‘हुटिट्याउँले आकाश थाम्न सक्छ र ?’
source: thenepalivoice
0 comments:
Post a Comment