-भरत दाहाल
मानिसहरु खेतिमा व्यस्त हुँदासम्म सडक तातो बन्दैनथ्यो । बर्षायाम सकियो । अब सुरु हुँदैेछ हिउँदे सडक नाटकको माहोल । कतै विदेशी दुताबास, कतै एनजीओ कार्यालय त कतै विदेशी गुप्तचरहरुका अखाडाहरुमा नाटकको पटकथा लेखन कार्य तिब्र गतिमा अघि बढेको छ । सो, हप्तौंदेखि संविधानसभा अबरुद्ध छ । तिहारपछि सडक तताउने धम्किको बर्षा जारीे छ । सहमति नभए संविधान जलाउने चेतावनीका झिल्काहरु खसिरहेका छन् । पेलेरै भएपनि संविधान घोषणा गर्ने ढोल घन्किएको छ । सभामुखको मुखमा लङ्गौटीको बुजो कोच्दै सांसदहरुको विदेश भ्रमणको लर्को लागेको छ । संविधान लेख्न एनजीओहरुबाट सभासदहरुलाई कखरा सिकाउन सुरु गरिएको छ । दाताहरुको अन्न बाँडफाँडमा घपलाबाजि भएर ककस निर्माणका २ वटा धारा निर्माण भएका छन् ।
सीके राउतलाई नछोडे ‘मधेश’मा आगो बाल्ने डकारको दुर्गन्ध फैलिन थालेको छ । पैसा नलिंदा प्रोफाईलमा तल परिने भन्दै झलनाथ खनाल सरकारी खर्चमा भिटामीन खान अमेरीका प्रस्थान गरेका छन् । टाट पल्टेको बौद्धिक जमात सुशिल कोइरालाको पोशाक मर्यादाको ‘राष्ट्रिय बहस’मा लिप्त छ, मानौं त्यसका लागि राष्ट्रमा बहसको गतिलो मुद्दा छैन । यूवा÷यूवतीहरु आँशु खसाउँदै दशैंको मुखमा विदेशीन बाध्य भैरहेका घटनाहरुलाई ‘वैदेशीक रोजगारी’ देख्ने माफिया सञ्चारहरुले बहुराष्ट्रिय कम्पनीहरुले नेपाललाई लुट्न सोझ्याएका आँखाहरुलाई विकासको कायापलटका रुपमा प्रचार गरिरहेका छन्, मानौं यहाँका प्राकृतिक श्रोतसाधनहरु माथिको विदेशी डकैति नै ‘स्वर्णिम नेपाल’को पर्याय हो ।
पानी, जङ्गल, खानी सबै विदेशीहरुका हातमा बुझाएर पहिचान सहितको प्रदेशमा लडाईं चलिरहेको छ, मानौं त्यस्तो प्रदेश पाउनेहरुले अब सुख्खा माटो खाएर मात्र जीवन चलाउने हुन् । सीके राउतको अधिकारका लागि घाँटीका नशा फुलाउने अपराधिहरुका मुखबाट दशैंमा नेपाल फर्किन थालेका नेपालीहरु दिनहुँ भारतमा सुनियोजित रुपमा लुटिन थालेका घटनाहरु बाहिर निस्कँदा आठौं आश्चर्य दर्ता हुन्छ । शासकवर्गका मुखमा जनताले ठाउँ पायो भने त्यो दन्त्यकथा बन्छ । यी हुन् विदेशीहरुले नेपाल बनाउन ठेक्का दिएका ‘अग्रगामी’ ठेकेदारहरुका दैनिकी । ‘१२ बुँदे समझदारी’ यी सबै कृयाकलापहरुको ‘आधार–पत्र’ हो ।
पेन्टागन, भ्याटीकन सीटी, ओस्लो, हेलसिन्की वा दिल्लीका मुखौटामा फाटेका धाँजाहरुका बीचको कहिल्यै नहुने ‘आम सहमति’को फलाको यसको ‘घोषणा–पत्र’ हो । एकपछि अर्को गरी नयाँ मुद्दाहरु उठाएर जनमत विभाजित गर्नु, उठाएका मुद्दाहरु कहिल्यै समाधान नगर्नु र राज्यलाई समस्याहरुको पुनरुत्पादन गर्ने कारखानाका रुपमा प्रयोग गर्नु यीनीहरुको स्वजातिय धर्म हो । ‘वर्गिय क्रान्तिर प्रजातन्त्रको स्थायीत्व’का नाममा २० हजार नेपालीहरुको रगतमा पौडी खेलेर देशलाई द्वन्दग्रस्त मानसिकतामा धकेलिसकेपछि एक ठाउँमा जुटाईएका यी तत्वहरुलाई नेपालको अस्तित्व समाप्त पार्न अब ‘जाति’को रगत चाहिएको छ । माओवादीका नाममा उत्पीडित वर्गले पाएको धोकाबाट टुटेको नेपाली मनोबलमा जातिय हिंसाको रगत घोलेर उठ्नै नसक्ने बनाउनु यीनीहरुलाई प्राप्त साम्राज्यवादी रणनीतिको सबैभन्दा महत्वपूर्ण निर्देशन हो । मेरा धारणाहरु कतैपनि भावनावादी र अतिरञ्जनापूर्ण छैनन् । हामीभित्र समस्याहरु छन् र तिनीहरुको समाधान गरिनुपर्छ भन्ने कुरामा विमति राख्नु हुँदैन तर नेपालको अहिलेको संकटको मूख्य श्रोत हामीभित्रको समस्या होइन । यो साम्राज्यवादी शक्तिहरुको बजार संघर्षको अभिन्न अंग हो । नेपालका दलालहरुलाई शिखण्डीका रुपमा प्रयोग गरेर यहाँको असफल भू–राजनीतिलाई अन्तर्वैदेशीक सामरीक अखाडाका रुपमा बदल्ने योजना हालको सत्ता राजनीति अन्तर्गतका संपूर्ण गतिविधिहरुको केन्द्र हो । यस योजनालाई सफल बनाउनका लागि ०४७ सालपछि कांग्रेसबाट गणेशमान र कृष्णप्रसादको बहिर्गमन, दासढुंगा हत्याकाण्ड, माओवादी विद्रोह, दरबार हत्याकाण्ड जस्ता अनपेक्षित तथा विश्मयकारी घटनाहरु घटाईएका छन् ।
देशका लागि केहि सकारात्मक भूमीका खेल्दै आएका व्यक्तित्वहरुको निर्मूलन, शक्तिकेन्द्रको विसर्जन र समाजको विखण्डनका योजनाहरु कार्यान्वयन गर्दै ‘१२ बुँदे’मा सत्ताको लगाम पूरै बाहिर पु¥याईएको कथित शान्ति प्रकृया नेपालका लागि क्यान्सर हो । विदेशी शक्ति र तिनका ताबेदारहरुले नेपालीहरुलाई दलहरुको आवरणमा निरन्तर विभाजित गर्दै, लडाउँदै र संकटको सघनिकरण गर्दै आएका छन् । यसबाट जोगिन हामीहरुका बीचमा संगठित हुनका लागि साझा जमिन नहुनु अहिले सबैभन्दा बढि खट्किएको विषय हो । राष्ट्रिय चिन्तन र विचारको विकासका लागि पहल हुन नसक्नु आजको सबैभन्दा ठूलो समस्या हो । यसलाई चिर्नका लागि दलिय परिधिबाट बाहिर निस्केर प्रत्येक नेपालीले आफ्नो लगानीलाई राष्ट्र र राष्ट्रिय हितका रुपमा अघि बढाउन जरुरी छ । हामीले परिस्थितिलाई देशभक्ति र देशद्रोहका रुपमा कित्ताबन्दी गर्न सकेनौं भने र देशद्रोहका विरुद्धमा प्रतिरोध गर्नुपर्ने चिन्तनको विकास गर्न सकेनौं भने नेपालको अस्तित्व खण्डीत हुने कुरा निश्चित छ ।
यतिबेलाको नेपाल दोश्रो विश्वयुद्धकालिन प्यालेष्टाइन हो । प्यालेष्टाइनको विसर्जन गरी इजरायलको स्थापना मार्फत् जसरी साम्राज्यवादीहरुले खाडीमा आफ्नो स्थायी आधार निर्माण गरेका थिए, नेपाल त्यहि दिशामा प्रयोग भैरहेको तथ्यमा द्विविधा नराखौं ।
0 comments:
Post a Comment