गायिका अन्जु पन्त प्रकरणको गाँठी कुरा के हो ?..

म कलाक्षेत्रलाई अत्यन्त माया गर्ने मान्छे भएर होला बिगत केहि दिन यता गायिका अन्जु पन्तको बारेमा भैरहेको विभिन्न टिका टिप्पणीहरुले कताकता नरमाइलो महसुस भइरहेको छ । अन्जुका हजारौ लाखौ श्रोता शुभचिन्तक जस्तै म पनि एक हून र त्यसमा पनि गीतसंगीतकै सन्दर्भमा संगै काम गरेको हुनाले म जस्तोलाई अन्जुको प्रसङ्गले पिरोल्नु स्वाभाविक ठान्दछु ।



 अन्जुले हिन्दू भजन गाउदिन भनेकै कारण आज एकाएक चारैतिरबाट आलोचना खेपिरेहेकी छन्, घृणित भएकी छन् । हिन्दू धर्म त्यागीसकेपछि इसाई धर्मलाई सर्वोपरी ठानेकी अन्जुले के कारणले आफ्नो धर्म परिवर्तन गरिकी होलीन ? के धर्म परिवर्तन आफ्नै इच्छाले गरेकी हुन वा कसैले उस्काइमा गरेकी होलिन? या हिन्दू धर्ममा उनले सुख शान्ति प्राप्त गरिनन् ? धॆरै बिकृति विसंगति देखिन  ? यी यावत प्रश्नहरुले मलाई मात्र होइन उनका लाखौ शुभचिन्तकहरुमा पनि उब्जेका प्रश्नहरु हुन,जुन अनुत्तरित छन् ।

यो बास्तबिकता स्वयं अन्जुलाई मात्र थाहा होला । हुनत मैले पनि कुनै धर्मको गहिरो अध्यन गरेको छैन, जाने त केवल अरुले भनेको सुनेर या आफ्नै समाज र परिवेशले अलि अलि सिकाएर । कुनै पनि धर्मको गहिरो अध्यन बिना नै हामीलाई  कसैको धर्मलाई राम्रो वा नराम्रो पक्कै भन्ने अधिकार छैन ।


म एक कलाकारको नाताले भन्न चाहन्छु अन्जु तिमीले यो सन्दर्भमा आफ्नो स्वतन्त्रताको प्रयोग गर्न पाउनु तिम्रो अधिकारको कुरो हो तर तिम्रो व्यक्तिगत  स्वतन्त्रताको प्रयोग गर्दा यदि कुनै धर्म, जातजाति वा समुदायमा असर पर्न जान्छ भने तिम्रो त्यहाँनिर स्वविवेकले  प्रयोग नगरेको ठहरिन्छ । आफुले जुन धर्म अपनाए पनि अरुलाई निच देख्न,होच्याउन कुन धर्मले सिकाउछ ?


सायद तिमी पनि धर्मसंकटमा परेकी हुन सक्छौ ! तिमीले हिन्दू  भजन गएको भए सबै हामी हिन्दूहरु पक्कै खुशी हुने थियौं भने इसाई धर्मालम्बीबाट तिमी बहिस्कृत हुन पुग्थ्यौ होला । तिमीले गरेको त्यो निर्णयले तिम्रो इसाई धर्मप्रति समर्पण देखियो होला तर तिमीले हिन्दू देवी स्वरस्वतीलाई सानैदेखि पुज्दै आयौ, उनैका राग गायौ अनि तिम्रा संगीतका गुरुलाई अपमान गरेको म लगायत हिन्दू धर्म मान्ने लाखौले आज ठूलो गुनासो गरेका छन् ।


एउटा ख्यातीप्राप्त कलाकारले कुनैपनि धर्म, जात भन्दा माथि उठ्न सक्नु पर्थ्यो । तिमीले उक्त दशैं गीत गाउदिन भन्नले आज तिम्रा अरु गल्तीहरु खोतल्न थालियो र यसले ठूलो रुप लियो जुन तिमीले सपनामा पनि सोचेकी थिएनौ होला । तिमीले रुदै गरेको क्षमा याचनालाई मान्छेहरुले “गोहीको आँशु ” भनि संज्ञा दिए जब तिमी स्वयं हिन्दू अनि इस्लाम धर्मलाई होच्याई बोलेको भिडियो सार्वजनिक भयो,जुन महिनौ पहिले युटुबमा राखिएको रहेछ । सायद तिमीले त्यो दशैंको गीत स्वीकारेको भए त्यो भिडियो भेटिदैन थियो होला अनि कीर्तिपुरमा एक कार्यक्रममा ढुंगा खाएको प्रसङ्ग पनि आउदैनथियो होला । खैर तिमीले गरेको हिन्दू धर्म प्रतिको उपहास छताछुल्ल भएर  पोखियो जुन उठाउन अलि समय नै लाग्ला । किन कि बोली र गोली फुस्के पछि फुस्क्यो फुस्क्यो ।  हजारौ लाखौ श्रोता जसले तिमीलाई आँखाको नानीमा सजाएका थिए,त्यो नानीमा तिमी कसिंगर भएर बसेकीछौ अहिले ।


अन्जु …तिमीलाई फेसबुक लगायत सामाजिक संजालमा प्रयोग गरेका हदैसम्मका गाली,अपमानका शब्दहरु  देख्दा लाग्यो-यो समाजमा मानवीय चेतना भनौ वा नैतिक शिक्षाको धॆरै कमी रहेछ । गल्ती तिमीबाट भएको छ र गल्ती गर्नेले आलोचना सहनु पर्छ तर आज सबैले तिमी नेपाली चेली हौ भन्ने बिर्सेका छन्, उनीहरुका लागि तिमीले नेपाली कला क्षेत्रलाई लगायका गुण सबै फिक्का भएका छन् ।


 तिमीलाई प्रयोग गरिएका शब्दहरु हेर्दा लाग्दछ तिमीले मान्छे मार्नु भन्दा ठूलो अपराध गरेकी छौ । इतिहासले त गल्ती गर्नेलाई माफ दिएको छ तर तिम्रो हकमा त्यति सहज क्षमा होला जस्तो लाग्दैन । किन कि तिमीलाई त कत्तिले देश निकाला गर्नु पर्छ सम्म भनेका छन् , तिम्रो स्वर नसुन्ने कसम खाएका छन् । यस्तो अवस्थामा अब तिमीले माफ पाउछौ कि पाउदैनौ ? त्यो समयले बताउने छ तर तिम्रो स्वर नहराओस,मेरो शुभकामना छ ।


त्यसो त अन्जु तिमीले तीजको भाकामा ‘म त नाचेँ’ , ‘तिम्रै लागि हो।’ आदि नेपाली हिन्दू नारीहरुको महान चाड तीजको गीत तिमी इशाई भएर पनि गाइसकेकी थियौ र तिम्रो अर्को भक्ति भजन ” दया गर माता” पनि युटुबमै अत्याधिक मन पराइका गीत हुन् तर किन हो यी गीत संगीत यो भुमरीमा छायामा परे ? किन तिमीमाथि एकोहोरो खनिरहेका छन् ? यी सब देख्दा कतै यो तिम्रो आरिश गर्नेहरुको प्रपन्च त होइन भन्ने पनि मनमा नलागेको होइन ।



अन्त्यमा धर्म, जात अनि देश भन्दा पनि ठूलो कुरा मानवियताको धर्म हो । यो तिमीले पनि नभूल र तिम्रा आलोचकहरुले पनि नभूलुन।  जय नेपाल!


इश्वर पोख्रेल अविरल,गायक-सिड्नी अस्ट्रेलिया
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment