साक्षात सुशील-
गुणाधिस खनाल जी, अन्जु पन्तको निम्ति ब्यङ्ग्यात्मक मनोवाद लेख्दै गर्दा तपाईँको लेख पढ्न पुगेँ। म हिन्दू धर्मको ज्ञाता त होइन तर तपाईँले उठाउनु भएको केही प्रश्नको उत्तर दिने प्रयास गरेको छु।
इसाई धर्मावलम्बीको माझ उभिएर उनले गरेको भाषण तपाईँले एकपटक फेरि हेर्नु भए राम्रो हुन्थ्यो। “भजन त म गाउँदिन तर प्रभु कै हो भने पछि दौडीदौडी रेकर्डिङको लागि गएँ” – यो वाक्यले अरु धर्मको अपहेलना गरेको छ कि छैन? एउटा कलाकारलाई शोभा दिने विषय हो?
“मेरे साई मेरे कुन्नि के रे, अल्लाह रे मेरे शिवजी…. त्यस्तै थियो” – अरु धर्मका देवताको नाम उच्चारण गर्दा उनले प्रयोग गरेको शब्द, बोल्ने तरिका कुन स्तरको छ?
“सबै धर्म एउटै होइन” – ९५% ॐकार परिवार भएको देश जहाँ हिन्दू मन्दिर जाँदा बुद्धलाई ढोग्दै हिँड्छन। त्यस्तो देश धर्म निरपेक्षतामा गइसक्दा पनि सबै धर्म एउटै होईन, मैले मानेको- बुझेको धर्म मात्र सही हो भन्ने किसिमको अभिब्यक्तिले स्वतस्फूर्त विरोध निम्त्याउँछ कि निम्त्याउँदैन?
तपाईले अन्जु पन्त ‘साइबर बुल्लिङ’ को सिकार भएकोमा दुखेसो पोख्नुभएको रहेछ। उनी नाबालिग होइनन्। धर्म निरपेक्ष देशमा ‘सबै धर्म एक होइनन्, मैले बुझेको र मानेको धर्म मात्र सही हो’ भन्ने किसिमको अभिब्यक्ति कै कारण धार्मिक अथवा साम्प्रदायिक सदभावमा खलल पुग्न गएमा उनलाई कानुनको दायरामा ल्याउन सकिन्छ।
ब्यक्तिगत स्वतन्त्रताको उपयोग भनौ या दुरुपयोग गर्दै ‘आफ्नो धर्म सही अर्को धर्म गलत। आफुले मान्ने प्रभु परमेश्वर, अरुले मान्ने प्रभु कुन्नि के’ भन्न पाइन्छ भने स्वत: अन्य धर्म र ईश्वरप्रति आस्था राख्नेले त्यस भनाईको विरोध र खण्डन गर्न पाउने ब्यक्तिगत स्वतन्त्रता राख्छन्। विरोध गर्नेको संख्या बढ्दै जाँदा तपाईलाई ‘साइबर बुल्लिङ’ लाग्यो। कथमकदाचित उनको त्यही भनाईलाई समर्थन गर्नेको संख्या बढी भएको भए ‘ शाश्वत सत्य’ लाग्थ्यो होला, होइन?
हिन्दू धर्मले कुनै पनि जातिलाई तपाईले भने जस्तो अपहेलित जाति भनेको छैन। वेदमा उल्लेखित ब्राह्मण, क्षेत्रीय, वैश्य, सुद्रको वास्तविक अर्थ नबुझी श्रम विभाजन हुँदै अन्तमा स्थायी विभाजन बनाउन खोजिएको हो। ल भन्नुस् नेपालमा तल्लो जातलाई मन्दिर प्रवेश गर्न रोक्ने, अन्तरजातीय विवाह गर्दा गाउँ निकाला गर्नेको संख्या बढी छ कि त्यस्तो गर्नु हुन्न भन्नेको संख्या बढी छ?
एकाध पटक पत्रपत्रिकामा आएको घटनाले पुरै हिन्दू धर्मावलम्बीको मानसिकता देखाउँछ? हिन्दुत्व मै आधारित रहेर समानता र एकताको निम्ति खटिएका विवेकानन्ददेखि कयौँको प्रयासलाई चटक्क बिर्सेर ‘हिन्दू धर्ममा हेपियौँ अब अब नहेपिने धर्म तिर लाग’ भनेर लालिपप देखाउने तपाईँको वाक्य डरलाग्दो धार्मिक प्रचार मान्ने कि नमान्ने?
यदि तपाईँको आशय हिन्दू धर्म बाहेक अन्य धर्मावलम्बीले उँचनिच र भेदभाव गर्दैनन् भन्ने लाग्छ र हेपिएको भनिएको जातिलाई त्यतै लागे समानता पाइन्छ भन्ने हो भने एकपटक सत्यमेव जयतेको यो कार्यक्रम हेर्नुहोस्
इसाई र इस्लाम धर्ममा हुने भेदभाव प्रष्ट हुनेछ। इराक, इरान, सिरिया र अफगानिस्तानका सिया र सुन्नी बीचको भिडन्त। पश्चिम देशमा कालाले गोरालाई ‘बाइबल’को आधारमा ‘व्हाइट डेभिल’ र गोराले कालालाई ‘दास’ भनेर् गरिने भेदभाव। यी सब मानिस आफैले गरेका हुन्। कुनै पनि धर्मले मानिस मानिस बीच भेदभाव गरेको छैन। यदि तपाईँले ब्राह्मण,क्षेत्रीय, सुद्र, वैश्यको वास्तविक अर्थ बुझ्नुभएको छैन भने यो हरफ पढ्नुहोला :
• ब्राह्मण सधैं सर्वोपरी छ ! ठुलो छ ! माथि छ ! विवेकसम्मत् छ ! जसले एउटा शरीरका क्षेत्रीय, वैश्य र शुद्र भागहरुको विवेकपूर्ण निगरानी गर्दछ ! र मोक्षको द्द्वार खोल्न सघाउंदछ!• शुद्रहरु यौन र यौनिक क्रियाकलापमा हराऊंछन, निर्लिप्त भएर सकिन्छन ! स्खलन भन्दा माथि उठ्नका लागि ब्राह्मणको बिबेक अनिबार्य छ ! जसले यौनको भोकबारे बिबेकपुर्ण निर्णय गर्न सकोस !• शुद्रबाट अलि माथि उठेकाहरु बैश्यहरु हुन् जो भुंडि र पेट चिन्तामा आफुलाई सक्छन ! नस्ट गर्छन ! स्वाद र वासना उनीहरुका प्रिय बिषय हुन् ! यहांबाट माथि उठ्न पनि ब्राह्मणको बिबेक अनिबार्य छ !• वैश्यबाट अलि माथि उठेकाहरु क्षेत्रीयहरु हुन् ! जसले सधैं- सधैं श्रम मात्र भन्दछन ! श्रम, श्रम, श्रम अनि श्रम ! सदा श्रमरत रहने क्षेत्रियपनि श्रमकै चंगुलमा त्यसै सकिञ्छ ! यहांबाट माथि उठ्न पनि ब्राह्मणकै बिबेक अनिबार्य छ !• क्षेत्रियबाट माथि उठेकाहरु सब्बै ब्राह्मण हुन् ! चाहे त्यो दलित समुदायमा जन्मिएको होस ! चाहे त्यो गैरदलित होस ! चाहे बाहुननै किन नहोस ! यदि बाहुन पनि यौनमा निर्लिप्त छ भने त्यो शुद्र हो ! भुंडि चिन्तामा लिर्लिप्त छ भने त्यो वैश्य हो ! अनि श्रममै निर्लिप्त छ भने त्यो क्षेत्रीय हो ! ब्राह्मण हैन त्यो बाहुन ! -अच्युत अर्याल
भोक, सौख, यौन, मोक्ष जस्ता बिषयको आधारमा बिभाजन छ हिन्दू धर्ममा। जन्मको आधारमा बिभाजन बुझ्नु मुर्खता हो। जनजाती काले राई हिन्दूदर्शन मै आधारित रहेर स्वामी प्रपन्नाचार्य बनेको नजिर हामी सामु छ। डा योगी बिकासानन्दको बिगतको थर के हो थाहा छैन तर आज उनी भौतारिएकालाई मार्ग देखाउने गुरु बनेका छन्। जन्मले दलित पनि अध्यात्मिक चेतनाले ब्राह्मण बन्न सक्दछन भने जन्मैले ब्राह्मण यौन र नशाको लिप्तता दलितभन्दा तल पुग्न सक्छ। अब भन्नुस, समाजले हेप्ने गरेको जातले आफ्नो धर्मले सिकाएको उच्चतम अवस्थामा पुगेर सम्पुर्ण समाजलाई बाटो देखाउने की कपडा फेरे झै धर्म फेर्दै जाने ?
हिन्दू धर्मको अर्थ चप्पल सुल्टो पार्नु, बिरालोलाई बाटो नकटाउनु, धूप बाल्नु, नरिवल चढाउनु मात्र बुझेकाहरूप्रतीको ब्यङ्यमा मेरो समर्थन छ। तर ‘अलोक निरन्जन’ भन्दै भिक्षा माग्न आउनेले केही सिकाएनन भनेर गुनासो गर्नु भएको रहेछ्। स्कुल कलेज पढेको, राम्रै जागिर, राम्री श्रीमती हुँदा हुँदै पनि मनमा कहीले शान्ति नभएपछि ‘सन्यासी’ बनेर लोभ, लालच, मोह, रिस, डाह भन्दा एक कदम माथि उठ्न सब छोडछाड गरेका असल जोगी हिन्दू धर्मका धरोहर हून। जोगीको भेषमा ति मध्ये केही ठग-माग्ने हुनसक्छन, केही कामचोर अल्छी हुनसक्छन। तर अब उप्रान्त राम्रोसँग नियाल्नुस् कतै ती बिरक्तिएर जगत बुझ्न हिडेका भोलिका नरेन्द्र मोदी त होइनन ? तपाई हिन्दू नै हुनुहुन्छ र भित्रैबाट ज्ञानको भोक पलाएको छ भने तपाईले छातीमा हात राखेर सोधिएको प्रश्नको उत्तर दिदैछु।
लिङ्ग किन पुजा गरेको ?
हिन्दू धर्ममा प्राय: पुजिने शिवलिङ्गको को कुरा गर्नु भएको होला। मित्र, राम्रोसँग हेर्नुहोस् , त्यहाँ शिवको लिङ्ग मात्र होईन पार्वतीको योनी पनि छ। सम्भोगको प्रतिकात्मक उपस्थिती हो शिवलिङ्ग। सम्भोग सिर्जनाको पहिलो खुट्किलो हो। सम्भोग प्राप्तिको नीम्ति प्रेम जन्मिन्छ। सम्भोग कै क्रममा आनन्द मिल्छ। जुन मानिस सम्भोगको उद्देश्य पूरा गरेर एक कदम माथि उठ्छ, त्यसले मोक्ष प्राप्त गर्छ। एक हिन्दूको जीवनमा चार खण्ड हुने गर्छन् धर्म, अर्थ, काम, मोक्ष। धर्म अर्थात् कर्म। बिद्यार्थीले पढ्नु उसको धर्म हो। त्यसको फलस्वरुप उसले सामाजिक इज्जत, प्रतिष्ठा र सम्पन्नता कमाउँछ जुन ’अर्थ’ हो। जसको उपयोग गर्दै उसले गृहस्थी जीवनमा ’काम’ अर्थात् सम्भोगको भरपुर आनन्द लिन्छ। त्यो ‘काम’ को अवस्था हो। यी तीन चरणबाट माथि उठाउन शिवलिङ्ग मात्र होईन अनेकौ यौन आकृति यत्रतत्र छन् हिन्दू धर्ममा। भौतारिएकाहरूलाई घच्घक्याउन।
कति करोड देउता छन् रे- नाम भन त ?
जे जति गर्दा पनि मनमा शान्ति नभएकाहरूलाई इश्वरिय तत्वबोध गराउन अनेकौ धर्म छन्। सबै धर्म आ आफ्नै तरीकाले ईश्वरीय तत्वबोध गराउन लागिपरेका छन। जिसस क्राइस्ट आफैमा देवता होईन तर परमात्माको छोरा हो भनिन्छ। पैगम्बर मोहम्मद आफै देवता होईन अल्लाहको अन्तिम दुत हो भनिन्छ। गौतम बुद्धले निर्वाण प्राप्त गरेको कारण इश्वरिय तत्व आफ्नै भित्र अनुभुत भएको भनिन्छ। हिन्दू धर्म यी सबै धर्म भन्दा पुरानो इतिहास बोकेको छ। इश्वरिय तत्व बोध गराउन बिभिन्न समयमा बिभिन्न घटना र अवस्थाका पात्रलाई अगाडी राखिएको कारण कालन्तरमा तपाईले भने जस्तो करोडौ देवता भन्नुपर्ने स्थिति आएको हो। त्रेतायुगमा सत्यको पक्षधर राम। द्वापर युगमा सत्यको पक्षधर कृष्ण। यी सबै रूपमा फरक भएपनि रुप एकै हून। तपाई ज्ञानको प्यासी हुनुहुन्छ भने मोक्षप्राप्त गर्न सरस्वती तपाईको सामुन्ने छिन्। तपाई द्रब्यको पछि लाग्नु भएको छ भने लक्ष्मीसँगको शाक्षातकार तपाईको अन्तिम लक्ष्य हो। संगीत, कला, राजनिती, कुट्निती, कला, यौन, द्रब्य, सुरबीर, सबै क्षेत्रलाई समेट्ने गरि मोक्षको द्वार खोल्न रूपमा करोडौ मात्र होईन अरबौ पुग्ने इश्वर हुनसक्छन। तर सार त एउटै हो। त्यहि ब्रह्म तत्व हो। त्यहि क्वान्टम मेकानिक्सको ‘गड पार्टिकल’ हो।
गाई किन पूजेको?
पाउडर दूध, ट्रेक्टर र युरिया मलको बिकासपछी सुरु भएको धर्म भएको भए सामाजिक रूपमा गाईको पूजा गरिंदैन थियो होला। तर के गर्नु हिन्दू धर्म कहिलेदेखि सुरु भयो येकिन इतिहास भेट्नै गाह्रो छ। युग युग कटेको छ। प्राचिनकालमा आमा बिरामी हुँदा नाबालकलाई पौष्टिक दूध खुवाउने पनि गाई। खेतको उब्जनी बढाउन मल दिने पनि गाई। गाई कै सन्तानले खेत जोतेर अन्न उब्झाउने, अनि नपुजेर के गर्नु ? यी त सामाजिक चलन भए। हिन्दूदर्शन मै आधारित भएर भन्ने हो भने असल हिन्दू, बौद्ध, किराँती, जैन जस्ता ॐकार परिवारका सदस्यले कसैलाई मारेर खाँदैन। स्वादको निम्ति हिँसा गर्नु ठीक होईन। अहिले एनिमल राइटसको नाममा पशुपन्छीलाई यातना दिई तिनको भुत्लाबाट बनेको पोसाक, पर्फ्युम नलगाउने, मासु खरिद नगर्ने क्याम्पेन देख्नुभएको होला। असल हिन्दूलाई यो क्यामपेनमा सहभागी हुन आवश्यक छैन। किनभने ती सुरु मै बाघलाई पनि देवता मान्छन। गाईलाई पनि देवता। कुकुर् पनि देवता। सिधै भन्दा कण कणमा ईश्वर देखिन्छ , आँखा खोलेर त हेर।
ए गाईको पिसाब पनि खान्छौ ?
गाईको मात्र होईन मित्र आवश्यक पर्नेले स्वमुत्रपान पनि गर्छन्। तर हिन्दू हुँदैनमा गाईको मुत्रपान गर्नैपर्छ भन्ने छैन। आयुर्बेदमा मुत्रपान के कतीको महत्व छ, यस बिषयमा डा योगी बिकासानन्दले तपाईको तृष्णा मेटिदिनसक्छन। मुत्रपानको बारेमा थप जानकारी यो लिंकमा पढ्नुहोला।
गणेश कसरी मुसोमा चद्छ?
तपाईँलाई इश्वरीय तत्वमा विश्वाश छ; ब्रह्माण्डबाट आउने अथाहा शक्ति योग साधनाद्वारा अनुभव गर्न सकिन्छ; कण कणमा ईश्वरको बास हुन्छ भन्ने बिश्वास छ भने गणेश पनि कहीँ मुसामा चढ्न सक्छ भन्ने प्रश्नै उठ्दैन थियो। गणेशलाई ईश्वरको प्रतिक मानिसकेपछि मुसामा चढ्न सकिन्छ की सकिदैंन यो तपाईले निर्देश गर्ने कुरा होईन। शक्तिशाली भगवान मानिसकेपछि मुसामाथि भन्दा डाइनोसोरसमाथी चढ्नुपर्ने मान्यता राख्नुहुन्छ भने मेरो केही भन्नु छैन। तर हिन्दू धर्मले दिएको मार्ग निर्देशनलाई चटक्क बिर्सेर मुसा, लड्डु, पेडामा बिबेक मन्चन नगरेकै बेस हुन्थ्यो।
अन्जु पन्तलाई शब्द चयनमा कुनै रोक लगानु उनको ब्यक्तिगत स्वतन्त्रता बिरुद्ध हुन जान्छ तर चाउचाउको भन्दा सस्तो धर्म परिवर्तनको मार्केटिङ चलिरहेको बेला यस किसिमको अभिब्यक्ति दिनु उनको गल्ति हो। यस लेखक हिन्दू हो तर चर्च गएको बेला इसाई रित अनुसार चोख्याइएको छ। भोलि मस्जिदमा कुनै कार्यक्रम भए प्रार्थन गर्न कुनै हिचकिचाउने छैन। ईश्वर एक हून पुग्ने बाटो फरक फरक छन्। तर गरिबीमा परेका, तिरस्कारमा परेका, पिछडिएकालाई ललाई फकाई धर्मपरिवर्तन गर्न उचाल्न परिचालित समूहको गतिबिधि सहनु पनि गलत हो।
0 comments:
Post a Comment