होस् गरौ है ज्यान समेत जान सक्छ बाथले !

हुन त बाथ रोगबारे हामीले कयौं दशकदेखि सुन्दै आएका छौं । तर यसबारे अझैंसम्म धेरै मानिसलाई जानकारी छैन । बाथलाई अंग्रेजीमा ‘आर्थराइटिस’ भनिन्छ । तराईतिर यसलाई ‘गठीय’ पनि भनिन्छ । यसले मानव शरीरको अस्थिपञ्जर प्रणलीलाई विशेषतः प्रतिनिधित्व गरेको हुन्छ । शरीरको कुनै पनि हाडजोर्नी, मांशपेसी, नसा दुखेर उत्पति हुने रोग हो ‘बाथ’ । यसले हाडजोर्नीबाहेक शरीरको कुनै पनि भित्री अंग जस्तै, मुटु, मिर्गौला, फोक्सो, टाउको (मस्तिष्क), कलेजो, आदिलाई हानी गर्छ । समयमा उपचार नपाए बाथरोगीको ज्यानसमेत लिने गर्छ ।
डा.अरुण कुमार गुप्ता
यो रोगलाई हेर्ने चिकित्सालाई ‘न्यूमाटोलोेजिष्ट’ भनिन्छ , यो रोग एकै किसिमको हुँदैन । यो एक सयभन्दा बढी किसिमको हुन्छ । कुन मान्छेलाई कुन प्रकारको बाथ भएको हो छुट्याएर उपचार गर्ने गरिन्छ । यो कु्नै व्यक्ति विशेषलाई मात्र हुँदैन । बाथ रोग जन्मदैको शिशुदेखि वयस्क र ८०–९० वर्षको उमेरका वृद्धवृद्धालाई पनि हुन सक्छ, जुनसुकै बेला लाग्न सक्छ । यी सबै कुनै न कुनै रोग प्रतिरोधात्मक प्रणालीको गडबडीले लाग्ने गर्छ । यस रोगले शरीरका विभिन्न भागको हाडजोर्नी र कार्टिलेज तथा विभिन्न प्रक्रियाबाट शरीरको प्रतिरोधात्मक क्षमता कम गरी रोग उत्पन्न गर्दछ ।
कुन व्यक्तिलाई कुन किसिमको बाथरोग भएको हो, त्यो समयमै पत्ता लगाउने कोसिस गर्नुपर्छ । धेरै हदसम्म बाथ रोग कुनै संक्रामक जीवाणु वा किटाणुबाट हुने रोग होइन । तर पनि ती सयौ बाथ रोगमध्ये अत्यन्त नगन्य मात्रामा अर्थात् नौ प्रतिशतमात्र त्यस्ता केही बाथरोग हुन्छन्, जुन जीवाणु र किटाणुका माध्यमबाट पनि हुने गर्छ । जस्तै टीबी, भाइरल रोग आदि ।
कतिपय बाथ रोग वंशानुगत पनि हुने गर्छन् । अर्थात् एकै परिवारमा धेरै जनालाई प्रभावित पारेको हुन्छ । साधारणतया  बाथरोग दुखाईबाट हुने रोग हो । तर, सबै दुखाईबाट नहुन पनि सक्छ । सवै बाथरोग भने पीडादायी हुन्छन् नै ।
प्रायः सबैमा हाडजोर्नी दुख्ने, खुम्चिने र फुल्ने समस्या देखिन्छन् । यसले टाउकादेखि खुट्टासम्मका कुनै पनि भागका जोर्नीलाई असर पार्न सक्छ । बिहान उठ्दा हातका औंंला तथा जोर्नीमा कक्रक्क पर्ने, गाह्रो हुने, मुठ्ठी पार्दा गाह्रो हुने, शरीर भारी हुने, जाम भएजस्तो हुने, हिड्न, बस्न, उठ्न गाह्रो हुने गर्छ । शरीर झम्झमाउने,  मांसपेशी दुख्ने, ज्वरो आउने, कपाल झर्ने, पुतलीको प्वाँखजस्तो गालामा रातो डाम आउने, चिसो पानीमा हात राख्दा रंग परिर्वतन हुने,  शरीरमा राता तथा निला डाम आउने, छाला तन्किने, औंलामा घाउ आउने, घाममा जाँदा राता डाबर आउने जस्ता विभिन्न समस्याबाट ग्रसित हुने गर्छन् । उकालो ओरालो गर्दा र भ¥याङ चढ्दा हड्डी दुख्ने गर्छन् । बाथरोगले केही दिन, महिना र वर्ष दिनभित्रै हड्डी बांगिने र त्योसँगै मुटु, मिर्गौला, आँखा, छाला, कलेजो र फोक्सोलाई पनि असर गरि घात गर्छ ।
समयमै राम्ररी उपचार गराउँदा बाथरोग पूर्ण निको पनि हुन सक्छ । तर, गाउँघरमा अझैं पनि अभिसापको रूपमा लिने, धामीझाँकी लगाउने तथा विभिन्न प्रचलित÷अप्रचलित खानेकुरा खाने गरेको पाइन्छ । तर ती कार्यको औषधि विज्ञानमा कुनै आधार छैनन् । तर, अधिकांश मानिसमा बाथ पनि एक किसिमको रोग हो र यसको उपचार गरेपछि निको हुन्छ भन्ने बुझाईमा वृद्धि हुँदैं गएको छ । उपचार पद्धतिको विकासले अहिले बाथ रोग न अभिसाप हो न त श्राप नै ।
विज्ञान प्रविधिको प्रगतिले गर्दा हाम्रा हातमा नयाँ–नयाँ औषधि र उपचार पद्दति आईसकेका छन् । बाथरोग पत्ता लगाउन रगतका विभिन्न जाँच तथा एक्स–रे गर्ने गरिन्छ । निक्र्यौल गरिसकेपछि उपचार प्रकृया सुरु हुने हुन्छन् ।
उपचारको मुख्य लक्ष्य नै रोगीलाई कुँजो हुनबाट बचाउने हो । साथै भविष्यमा मुटु, मिर्गौला, फोक्सो, कलेजो, आँखा तथा छालामा हुने विविध जटिलता वा प्रकोपबाट समयमै बचाउने पनि यसको उद्देश्य हो । त्यसैले बाथरोगबारे जानकारी लिई आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।
लेखक नर्भिक अस्पतालका चिकित्सक हुन्
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment