तपाईको स्तन ठूलो छ? छ भने यो लेख पढ्नुस - १८ वर्षीया किशोरी डाक्टरको सल्लाह लिदै ... १८ +

म १८ वर्षीया किशोरी हुँ। मेरो स्तन हुनुपर्ने भन्दा अलि ठूलो छ। यसलाई घटाउने कुनै प्राकृतिक उपाय छ ? स्तन ठूलो हुनाले ममा जति आत्मविश्वास हुनुपर्ने थियो त्यति छैन। म विश्वासका साथ मानिसहरूको सामना गर्न सक्दिनँ। एक किसिमको ग्लानि हुन्छ। कतिपय पुरुषलाई ठूला स्तन राम्रा लाग्छन् भन्ने सुनेकी छु तर मलाई यस्तो स्तन मन पर्दैन। मलाई स्तन घटाउनु नै छ। त्यसैले स्तन घटाउने जे-जति उपाय छन्, बताइदिनुहोला। - ए. 

के स्तन ठूलो नै हो ? विशेष गरी किशोरावस्थामा आफ्नो शरीरमा भैरहेका विभिन्न परिवर्तनका सम्बन्धमा निकै चासो हुन्छ। यसै क्रममा किशोरीहरूमा स्तनको आकारका सम्बन्धमा पनि चासो हुन्छ। सामान्यतः स्तन भन्नाले महिलाको छातीमा रहेका दुईवटा विशेष ग्रन्थि बुझिन्छ। यसले शिशुको पोषणका लागि आवश्यक दूध बनाउँछ। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ। यसको आकारमा वृद्घि किशोरावस्थामा हुने भए पनि दूध निर्माण गर्न आवश्यक पर्ने ग्रन्थि तथा नलीहरूको विकास गर्भवती हुँदा तथा स्तनपान गराउँदा निस्कने हार्मोनहरूको प्रभावमा पछि मात्र हुन्छ र स्तनको विकास पूरा हुन्छ। सबैजसो किशोरीलाई आफ्नो स्तनको आकारका सम्बन्धमा चासो र चिन्ता हुन्छ। 

स्तनको विकास समय (चाँडो वा ढिलो), त्यसको गति (शीघ्र वा सुस्त) अनि आकार तथा नापजस्ता कुरामै यस्तो चिन्ता वा चासो हुन्छ। यससँग सुन्दरताको कुरा पनि जोडिएको छ। किशोरावस्थामा शरीरमा भैरहेका यी परिवर्तनप्रति कतिपय किशोरी सहज हुन सकिरहेका हुँदैनन्। वास्तवमा स्तन सामान्यभन्दा ठूलो नभए पनि आफ्नो स्तन निकै ठूलो भएको भान पर्छ। आफैंभित्र असजिलो भएका कारण आफ्नो स्तनमै सबै व्यक्तिको ध्यान गएजस्तो लाग्छ। तपाईंलाई पनि त्यस्तै त भएको होइन ? एकपटक विचार गर्नुहोला। कतिपय किशोरीले त स्तनको उभार नदेखियोस् भनेर ढाड र कुम खुम्च्याएर बस्ने मात्र होइन कि पहिरन पनि त्यस्तै लगाउँछन्, तर हाल आएर त्यस्ता कुरामा केही परिवर्तन पनि आएको छ। अर्को कुरा, तपाईंले स्तनको नाप लेख्नुभएको छैन। तपाईंले प्रयोग गर्ने ब्रा अर्थात् थुन चोलीको नाप तथा कपको साइजका बारेमा केही पनि उल्लेख नगर्नु भएकाले यसै भन्न सकिने स्थिति छैन। अप्रत्यक्ष रूपमा त्यसबाट पनि तपाईंको स्तन ठूलो भए-नभएको आँकलन गर्न सकिन्थ्यो। 

  के ठूलो स्तन समस्या हो ? अन्य कतिपय देशझैं नेपालमा पनि ठूला स्तनलाई आकर्षक नै मानिन्छ। अन्य कुनै खराबी नभै स्वाभाविक रूपमा स्तनको आकार मात्र ठूलो भए खासै चिन्ता गर्नुपर्ने केही छैन। किशोरावस्थामा आफ्नो शरीरका कतिपय अङ्ग, त्यसको स्वरूप, उचाइजस्ता कतिपय कुरा नमिलेजस्तो लाग्छ, त्यसलाई तुरुन्तै सच्याउँ जस्तो हुन्छ। यो किशेारावस्थामा हुने शरीरको विम्बप्रतिको अलमलका कारण हुने कुरा हो। किशोरावस्था पार गरेपछि आफ्नो शरीर यस्तै हो भनेर स्वीकार गरिन्छ र शरीरको कुनै अङ्गको स्वरूप वा नापलाई लिएर हुने समस्या समस्याका रूपमा रहँदैन। त्यसैले तपाईंले पनि स्वाभाविक रूपमा भएको स्तनको नाप अनि आकारलाई स्वीकार गर्नु समस्या समाधानको एउटा उपाय हुन सक्छ। 

  अति नै ठूला स्तन भए के गर्ने ? स्तन निकै ठूलो भएको हो भने वास्तविक धरातलमा आएर समस्याको समाधान खोज्नुपर्छ। स्तन अलि ठूलो मात्र भन्नुभएको छ। यस्तो स्थितिमा ठीक किसिमका पहिरन लगाएर स्तनको उभार छोप्नु एउटा सजिलो उपाय हो। साइज मिल्ने किसिमको थुनचोली लगाउनुपर्छ। यो उमेरमा वृद्धि छिटो-छिटो हुने भएकाले त्यसैअनुसार ठीक साइजको थुनचोली पनि समय-समयमा स्तनको वृद्धिसँगै फेर्नुपर्छ। कसैकसैको स्तन वास्तवमै अति ठूला हुन्छन्। त्यस किसिमको आवस्थालाई mammary hyperplasia or macromastia भनिन्छ। त्यसलाई शल्यक्रिया गरेर सानो बनाउन सकिन्छ। यस्तो शल्यक्रिया गरिनुपर्ने अवस्था हुन्छन्, जस्तो कि टाउको, गर्दन अनि कुममा निरन्तर पीडा हुने जसले जीवनको गुणस्तरलाई नै प्रभाव पारेको छ। 

स्तनको भारले शरीरको आसन स्थिति ठीक नभई स्नायु थिचिएर हत्केला वा वाहुभुजा झमझमाए। स्तनको भारले थुनचोली (ब्रा)को पट्टि धेरै धसिने भए वा स्तनमा छाला फाटेका दाग आए वा स्तनको मुनितिर सधैं बिमिरा वा छाला रातो भए अनि खेलकुदमा भाग लिन नसक्ने भए यस्तो शल्यक्रिया गराउनुपर्ने अवस्था आएको मानिन्छ। तपाईंले आफ्नो स्तनको सन्दर्भमा यस्ता केही कुरा लेख्नुभएको छैन। तपाईंलाई साह्रै असजिलो लागेको छ र चाहनुहुन्छ भने एक किसिमको प्लास्टिक सर्जरी गर्ने चलन छ। नेपालमा यस्तो प्रचलन अति नै सीमित छ। यस्ता शल्यक्रिया जटिलतामुक्त हुँदैनन् त्यसैले त्यसका बारेमा शल्यचिकित्सकसँग पर्याप्त विचार-विमर्श गर्नुपर्छ। 

 जोखिमको कुरा गर्दा कुनै पनि शल्यक्रियामा जस्तै रक्तश्राव तथा संक्रमणको सम्भावना हुन्छ। यो शल्यक्रिया पूरै वेहोश गराएर गरिने भएकाले त्यसको जोखिम जस्तै— श्वास-प्रश्वास वा मुटुसम्बन्धी समस्या अनि औषधी सम्बन्धी रियाक्सन हुनसक्छ। त्यसबाहेक स्तनपान गराउन समस्या आउन सक्छ, घाउ पारेको खत लामो समयसम्म रहन सक्छ। त्यसैगरी स्तनको मुन्टोको संवेदनशीलता केही हराउने वा परिवर्तन हुने वा दुवै मुन्टो एउटै स्तरमा नहुने जस्ता समस्या झेल्नुपर्ने हुन सक्छ। 

 आशा गर्छु, कुरा बुझ्नु नै भयो होला। राम्रोसँग विचार गरेर मात्र ठोस निर्णय लिन अनुरोध छ। 

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment