के हो जन्डिस?.कसरी गर्ने जन्डिसको उपचार?

जन्डिसबारे जान्‍नैपर्ने कुरा:



संखुवासभाकी ६८ वर्षीया शोभा
 (नाम परिवर्तन) का आँखा एकाएक पहेँलो देखिन थाल्यो। परिवारले जन्डिस भएको निक्र्योल निकाले। चिकित्सकलाई देखाए झन् बिग्रन्छ भन्दै जडीबुटीबाट उपचार गर्न थाले। उनको भान्साकोठाबाट नून, तेल, बेसार र मासु हटाइयो। नजिकैको हेल्थपोस्ट्मा रगत जाँच गराउँदा बिलिरुविन ५.६ देखियो अनि नाइटोमा लेप लगाउने काम सुरु भयो। तर, जन्डिस झन् घटेन। डाक्टरलाई देखाउने कि वैद्यलाई? परिवारमा विवाद कायमै थियो। बल्लतल्ल थापालाई काठमाडौंको नरदेवी आयुर्वेद अस्पताल ल्याइयो तर निको हुन छाँट देखिएन। अन्तत: उनलाई वीर अस्पताल पु:याइयो। यहाँसम्म आउँदा उनको कलेजो र फोक्सोमा क्यान्सर फैलिसकेको थियो। चिकित्सकले थापाको ज्यान बचाउन सकेनन्।

रोजगारका लागि विदेश जानुपहिले स्वास्थ्य जाँचका लागि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पुगेका वीरगन्जका शम्भु शरण (नाम परिवर्तन)को हातमा हेपाटाइटिस बी भएको रिपोर्ट हात पर्‍यो। कसैले सल्लाह दियो- च्याउ खानू, निको हुन्छ। उनले ६ महिनासम्म च्याउ खाए तर रोग बीसको उन्नाइस भएन। रगत जाँच गर्दा जन्डिसको मात्रा बढेको पाइयो। केही नलागेपछि उनी पनि वीर अस्पताल आइपुगे। चिकित्सकका अनुसार उनलाई कलेजोमा क्यान्सर भइसकेको थियो।
वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीका अनुसार यस्ता समस्या बोकेर आउने बिरामीको संख्या निकै बढेको छ। आफैंमा कुनै रोग नभएको जन्डिस देखिएपछि यसको कारक तत्त्व पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ। 'तर, जन्डिसको लक्षण देखिएपछि चिकित्सकले दिएको सल्लाहभन्दा पनि आफन्त र घरपरिवारको कुरा सुनेर बिरामीले झन् आफ्नो स्वास्थ्य जोखिममा पारेको पाइन्छ', उनी भन्छन्।
पहिलो बिरामीमा जन्डिसको कारक तत्त्व पित्तको नली थियो भने दोस्रो बिरामीमा हेपाटाइटिस बीले गर्दा लिभर सिरोसिस भएको थियो। दुवै बिरामीलाई एकै किसिमको आयुर्वेदिक उपचारका कारण समस्या थपिएको थियो।
अहिले पनि हाम्रो समाजमा जन्डिसको उपचार भन्नेबित्तिकै आयुर्वेदलाई सम्झने गरिन्छ। परम्परादेखि चल्दै आएको आयुर्वेदमा पक्कै पनि धेरै रोग निको गर्ने क्षमता छ र यसलाई अस्वीकार गर्न मिल्दैन। तर, जन्डिस भएपछि खाना बार्ने चलनले रोगलाई अझ बिगार्दै लाने गरेको चिकित्सक बताउँछन्।
के हो जन्डिस?
कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीका अनुसार रगतमा बिलिरुविनको मात्रा बढी भएर आँखा, छाला र मुखभित्र पहेँलो हुनुलाई जन्डिस भनिन्छ। यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षणमात्र हो। केसी भन्छन्, 'साधारणतया रगतमा बिलिरुविनको मात्रा एक मिलिग्राम/१०० एमएलभन्दा कम हुन्छ। बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमात्र आँखा पहेँलो देखिन्छ।'
बिलिरुविन विभिन्न अवस्थामा बढ्न सक्छ र जन्डिस देखा पर्ने तीन विशेष अवस्था छन्- रगतको रातो कण अत्यधिक नष्ट भएर धेरै बिलिरुविन निस्की कलेजोले त्यसलाई लिन नसक्नु, कलेजोको रोग लागेपछि रगतबाट बिलिरुविन लिएर पित्तमा फ्याँक्न नसक्नु र पित्तको नली कुनै कारणले अवरुद्ध भई पित्त आन्द्रामा जान नसक्नु।
असर:-
डा. केसीका अनुसार साधारण जन्डिस आफैंले नवजात शिशुबाहेक अरूलाई त्यति असर गर्दैन। वयस्कमा १ हुनु र १० हुनुमा कुनै फरक पर्दैन भने २५ भन्दा माथि पुगेमा मिर्गौलाको समस्या भएका व्यक्ति मा मिर्गौला खराब हुनसक्छ। नत्र बिलिरुविनले आँखा र छाला पहेँलो हुने, पिसाब गाढा हुने, दिसाको रङ हल्का पहेँलो हुने र कहिलेकाहीँ माटोजस्तो हुने गर्छ। यसबाहेक बिलिरुविनका कारण सारा शरीर चिलाउनसक्छ।
कारण:-
अत्यधिक बिलिरुविन : शरीरमा अत्यधिक मात्रामा बिलिरुविन उत्पादन भएर त्यसलाई कलेजोले पित्तमा फाल्न नसक्दा जन्डिस हुनसक्छ। यस किसिमको जन्डिसमा बिलिरुविन पाँच मिलिग्रामभन्दा बढी हुँदैन र यसको मात्रा बढ्ने घट्ने भइरहन्छ।
रगतको रातो कण अत्यधिक मात्रामा नष्ट हुनु : यो बेला रातो कणको बनावटमा फरक पर्दा फियो अत्यधिक मात्रामा नष्ट हुन जान्छ र बिलिरुविनको मात्रा बढ्छ।
असामान्य अवस्थाको रातो कण बन्नु : विभिन्न कारणले गर्दा रातो कणभन्दा असामान्य अवस्थाको रातो कण बन्छ, जसको आयु सामान्य रक्तकणको एक सय २० दिनभन्दा कम हुन्छ। फियोमा नष्ट हुने क्रम बढ्छ र बिलिरुविनको मात्रा बढ्न जान्छ।
अत्यधिक रक्तस्राव : शरीरको कुनै ठाउँमा अत्यधिक रक्तस्रावपछि जमेको रगत विस्तारै सोसिँदै जान्छ। यदि त्यसको मात्रा बढी छ र सोसिने क्रम चाँडै हुन्छ भने त्यस अवस्थामा पनि जन्डिस हुनसक्छ।
कसरी गर्ने जन्डिसको उपचार?
जन्डिस कुनै रोग नभएर रोगको लक्षणमात्र भएकाले यसको कुनै उपचार गर्नु पर्दैन। विलिरुविनको मात्रा एक मिलिग्राम हुनु र पाँच मिलिग्राम हुनुमा शरीरमा कुनै फरक पर्दैन। बढ्दै गएमा रोग बढिरहेको हुनसक्छ। त्यसैले एकचोटि जन्डिस भएपछि त्यो कुन कारणले भएको हो थाहा पाउन जरुरी हुन्छ। त्यसको उपचार गर्नुपर्ने हुनसक्छ।
कतिपय रोगले जन्डिस गराउने भए पनि त्यस रोगको अथवा रोगको कारणको कुनै उपचार गर्नु पर्दैन। जस्तै हानिरहित जन्मजात रोग गिलवर्ट सिन्ड्रोम आदिको उपचार नगर्दा बिरामीको आयु घट्दैन। हेपाटाइटिस इ, ए र हेपाटाइटिस बीले गर्ने एक्युट हेपाटाइटिसमा कुनै उपचार गर्न पर्दैन। रगतको विभिन्न जाँच गरेर जन्डिसको प्रकार र त्यसको कारण पत्ता लगाउन सकिन्छ। अल्ट्रासाउन्ड (भिडियो एक्सरे)ले शल्यचिकित्साबाट उपचार गर्नुपर्ने जन्डिस छुट्याउन सकिन्छ। कुनै अवस्थामा रोग यकिन गर्न गाह्रो भए कलेजोको टुक्रा निकालेर (बायोप्सी) जाँच गर्नुपर्छ।
जन्डिस र खानेकुरा:-
चिकित्सकका अनुसार नेपालीसमुदायमा जन्डिस भन्नेबित्तिकै उसिनेको खानेकुरा, नुन बेसार नभएको, गाँजर, काँक्रो, मेवा, ग्लुकोज र उखुको रस खाने चलन छ। धेरैजसो आयुर्वेदिक चिकित्सकले पनि यही सल्लाह दिने गरेको पाइन्छ। जन्डिस भएको अवस्थामा कलेजो र पित्तको नलीका कारण चिल्लो पदार्थको पाचन क्रियामा असर पर्ने भएकाले चिल्लो कम गर्नुपर्छ। अन्यथा अरू कुनै खाना बार्नु जरुरी छैन।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment