पुष महिना बाट नेपाली युवाले स्वदेश मै रोजगार पाउने


काठमाडौं । कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले आगामी पुस महिनादेखि कृषि क्षेत्रमा नयाँपन देखिने ठोकुवा गर्दै युवाहरु विदेशिनु नपर्ने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्याक्रममा मन्त्री पराजुलीले पुससम्म कृषि क्षेत्र परिणाममुखी हुने बताउँदै नेपालका युवाहरु वैदेशिक रोजगारमा जान नपर्ने बताएका हुन् ।

उनले भने,‘विदेश जान टिकट काटेर ठिक्क परेका युवाहरु पनि पुसपछि नेपालमै बस्नेछन्, हामीले त्यस अनूरुपको कार्यक्रम बनाएका छौं , उहाँहरु विदेश नगई कृषिमा आवद्ध भएको तपाईहरुले देख्न पाउनुहुनेछ ।’ सरकारले खर्च गर्न सक्ने गरी कृषि क्षेत्रमा बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री पराजुलीले कृषि क्षेत्र उत्पादनमुखी र परिणाममुखी बनाउने गरी नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको धारणा राखेका छन् ।
उनले भने, ‘बजेट कार्यान्वयन भए कृषि उत्पादकत्वमा वृद्धि हुन्छ, यसले नेपालमा कृषि क्रान्तिको बाटो खोल्नेछ ।’ मन्त्री पराजुलीले कृषि क्षेत्रलाई विकास गर्नका लागि भूमि, मल, सिँचाई, वीउवीजन, सुलभ बजार र उचित मूल्यको व्यवस्था गर्नुपर्ने समेत धारणा राखेका छन् । कृषिक्षेत्रलाई आकर्षणको केन्द्र बनाउनका लागि सरकारले ३० वटा वाणिज्य बैंकमार्फत देशभरिका छ सय शाखालाई नै परिपत्र जारी गरी छ प्रतिशतको सहुलियत दरमा किसानहरुलाई ऋण उपलब्ध गराउन निर्देशन गरेको पनि मन्त्रीले जानकारी दिएका छन् ।
उनले धान, गहुँलगायतका उपभोग्य वस्तुको मन्त्रीस्तरीय निर्णयबाट समर्थन मूल्य निर्धारण गरेर बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको समेत जानकारी दिए । किसानहरुले ३२ हजारदेखि १ लाखसम्म सहुलियत पाउने जानकारी दिँदै देशभरीका जिल्ला कृषि कार्यालय र पशु सेवा कार्यालय मार्फत सेवाग्रहीहरुलाई सहुलियतबारे सूचना उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिइसकेको बताए ।

मन्त्री पराजुलीले आगामी सार्क सम्मेलनमा कृषि क्षेत्रको विकास र विस्तारका बारेमा समेत व्यापक छलफल गर्ने जानकारी दिए । भारत सरकारले नेपालका लागि सोयल मोवाईल टेस्टिङ् भ्यान उपलब्ध गराउने भन्दै त्यसबाट कृषकहरु लाभान्वित हुने उनले बताए । उनले कृषि क्षेत्रको अनुशन्धानको लागि विधार्थीहरुलाई शोधपत्र तयार गर्न सरकारले विशेष बजेट समेत छुट्याउने तयारी गरेको बताए । करिव ११ सय युवालाई क्षमता अभिवृद्धि गर्नका लागि पहिलो चरणमा कृषिसम्बन्धी प्राविधिक तालिमको व्यवस्था गरेको पनि मन्त्री पराजुलीले जानकारी दिए ।
उनले कृषि क्षेत्रको अध्ययन र अनुशन्धानका लागि डिम्ड यूनिभर्सीटि समेत खोल्ने बताए । उनले विश्वमा कतैपनि आम सहमतिबाट संविधान जारी नभएको बताउँदै सकेसम्म दलहरुवीच अत्याधिक सहमति गर्नुपर्ने बताए । उनले सहमति सम्भव नभए प्रक्रियामा गएर भएपनि माघ ८ मै संविधान आउने ठोकुवा गरे ।


Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment