काठमाडौं, ३ भदौ । पश्चिम नेपालका पहाडी जिल्लाहरूमा माओवादी नेताहरू यतिबेला द्वन्द्वकालका हतियार देखाएर यार्सागुम्बा र पैसा लुट्ने धन्दा मच्चाइरहेका छन् । मोष्ट वान्टेड माओवादी नेता कालीबहादुर खामको नेतृत्वमा माओवादीले यस्तो धन्दा चलाएको स्रोतले बताएको छ । प्रहरीले गरेको सुक्ष्म अनुसन्धानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै संरक्षण र केन्द्रीय नेताहरूको संलग्नतामा यस्तो धन्दा मौलाएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक पूर्वमाओवादी लडाकु कमाण्डरलाई पक्राउ गरी अनुसन्धान गर्दा ठूला नेताहरूको समेत यसमा संलग्नता देखिएको छ । तर राजनीतिक दबाबमा सिआईबीले ठूला नेताहरूलाई भने पक्राउ गर्ने आँट गरेको छैन । सिआईबीले माओवादीका पूर्वबटालियन भाइस कमाण्डर बिकल्प भनिने संगम रोक्कालाई एम १६ राइफल तथा लागूऔषधसहित गत साउन ९ गते बौद्धबाट पक्राउ गरेको थियो । उनी हाल सिआईबीकै हिरासतमा छन् । सिआईबीका अनुसार उनी माओवादी नेता कालीबहादुर खाम समूहका सदस्य हुन् । उनका भाइ नवीन रोका गत महिना मनाङमा पक्राउ परिसकेका खामका बडिगार्ड नै हुन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको घटनामा खाम र नवीन दुवै जना फरार छन् । खामको समूहले पछिल्लो सयम मनाङ, मुस्ताङ, डोल्पा, रुकुमजस्ता जिल्लामा लुटपाट र डकैतीको आतंक मच्चाउँदै आएका छन् । सिआईबीका अनुसार गत असार २० गते खाम नेतृत्वको सो समूहले चीनबाट यार्सागुम्बा बेचेर फर्किएका व्यापारीको ६ करोड ३७ लाख रुपैयाँ लुटेका थिए । डोल्पाको साल्दाङ गाविसमा पेस्तोल तथा बन्दुक देखाएर २०/२५ जना व्यापारीलाई उनीहरूले लुटेका थिए । त्यसबेला एम १६ बन्दुकसहित पेस्तोलहरू समेत उनीहरूले देखाएका थिए । पैसा नदिए सबैलाई बन्दकुले भुटिदिने भन्दै तर्साएर लुटपाट गरेको पीडितले जनाएका छन् । जसमा खामका १० जना सदस्य थिए । त्यस्तै जेठ १६ गते डोल्पाको माचफालमा उनीहरूले व्यापारी हर्क बहादुर तामाङको हत्या गरेका थिए । सो समूहका नवीन रोका र उजर रोकालाई प्रहरीले मनाङको धारापानीबाट प्रहरीले एके ४७ सहित विभिन्न किमिसका हतियारसहित पक्राउ गरेको थियो । माओवादी नेता खाम ६ वर्षअघि बालाजुमा चिनियाँ व्यापारीको करोडौंको यार्सागुम्बा लुटपाटमा संलग्न भएको घटनामा फरार छन् । रामहरि श्रेष्ठ हत्या प्रकरणका उनी नाइके हुन् ।
उनीमाथि कारबाहीको माग पार्टीभित्रै पटक पटक उठ्दै आएपनि प्रचण्डले उनलाई काखी च्याप्दै आएका छन् । स्रोतका अनुसार खामले प्रचण्डलाई आर्थिक जोहो गरिदिने भएकाले उनीहरूबीचको सम्बन्ध बलियो बन्न पुगेको हो । त्यही कारण व्यापक विरोधका बाबजुद पनि खामलाई प्रचण्डले केन्द्रीय सदस्यमा राखेका छन् । प्रचण्डकै दबाबमा प्रहरीले खामलाई पक्राउ गर्न पनि चासो दिएको छैन । सिआईबीका एक अनुसन्धान अधिकृतका अुनसार पक्राउ परेका संगमले खामकै नाम त लिएका छैनन् । तर, नियमित सम्पर्क देखिएको छ । ‘यदि पक्राउ गरेर अनुसन्धान गर्ने हो भने खामविरुद्ध प्रमाण सजिलै जुट्छ,’ ती अधिकारीले भने । यो वर्ष पनि यार्सागुम्बा लुटपाटबाट खामले मोटो रकम कमाइसकेका छन् । त्यसमध्ये केही प्रचण्डलाई पुगेको स्रोत बताउँछ । पछिल्लो समय खाम पार्टी नेतृत्वसँग सम्पर्कमा तथा कार्यकर्तासँग भूमिगत जस्तो छ । केन्द्रीय सदस्य भएपनि उनको कार्यक्षेत्र भने तोकिएको छैन । (दृष्टिबाट)
0 comments:
Post a Comment