घाइतेलाई मार्नै तम्सन्छन् ट्रक बसका ड्राईभर हरु ..पढ्नुस आसु आउने रगत उम्लने बास्तबिकता

सवारी दुर्घटनामा दाहिने खुट्टा गुमाएका झापा ज्यामिरगढीका युधिर बस्नेत। तस्बिर : राजु अधिकारी
        सवारी दुर्घटनामा दाहिने खुट्टा गुमाएका झापा ज्यामिरगढीका युधिर बस्नेत। तस्बिर : राजु अधिकारी 
झापा- विपरीत दिशाबाट आइरहेको बस बिस्तारै रोकियो। पछिपछि ट्रक आइरहेको थियो। आफ्नै लेनमा बाइक चलाइरहेका उनी गति कम गर्दै अघि बढे। हुइँकिँदै आएको ट्रकले बसलाई ओभरटेक मात्र के गरेको थियो, बाइकलाई ड्याम्मै हानिहाल्यो। 
उनी सडकमै ढले, बाइक दक्षिणतिर उछिट्टियो। तत्कालै देखे, उनलाई लडाएर केही पर पुगिसकेको ट्रक फेरि उनीतिरै ब्याक आइरहेको थियो। कालले लखेट्दै गरेको देखेर उनी बेस्सरी चिच्याए, 'मलाई नमार्नुस्, म स्वास्नी, छोराछोरी भा'को मान्छे।' 
ट्रक रोकिएन।
लौ आज मार्ने नै भो भन्ने ठान्दै उनी सकी–नसकी बाइक लडेको दिशातिरै पल्टा खान थाले र क्षणभरमै अलि पर पुगे। किच्न नभ्याउने देखेपछि ट्रक तीव्र गतिमा भाग्यो।
'३२ घन्टापछि होस आउँदा भारत, सिलिगुढीको अस्पतालमा थिएँ,' झापा ज्यामिरगढी–५ का ३० वषर्ेे युधिर बस्नेतले डेढ वर्षअघिको त्यो क्षण सम्भि्कए, 'ट्रकले ब्याक गरेर किच्न खोजेको थियो, ज्यान त जोगाएँ, तर एउटा खुट्टा सधैंलाई गुमाएँ।' बस्नेतको दाहिने खुट्टा घुँडामाथिबाट पूरै काटिएको छ। 
जानी–नजानी दुर्घटना गराइसकेपछि घाइतेलाई हत्तपत्त अस्पताल पुर्यारउनु चालकको कर्तव्य मात्र होइन, मानवीय धर्मसमेत हो। तर, फितलो कानुनको प्रभावले उनीहरु उल्टै ब्याक गरेर घाइतेलाई मारिदिन तम्सन्छन्। कानुन भन्छ– घाइते, अंगभंग भए उसको उपचार गरिदिनुपर्छ, जिन्दगीभर हेरचाह गरिदिनुपर्छ। मारिदिए, किरियाखर्च दिए पुग्छ। दुर्घटनामा चालकको लापरबाही नै देखिए पनि ज्यानमुद्दा लगाउन कानुनले जोड दिँदैन, यातायातधनी, प्रहरी मिलेमतोमा त्यस्तो मुद्दा पर्नै दिँदैनन्। 
...
२०७० चैत ६। साँझ साढे ६ बजे। 
बिर्तामोडमा घर बनाइरहेका थिए बस्नेत। दिनभर नयाँ गारोमा पानी हालेर उनी पुरानो घर ज्यामिरगढी फर्कंदै थिए। तीन किलोमिटरपूर्व बुट्टाबारीचोक पुग्दा मोबाइलको घन्टी बज्यो। मोटरसाइकल रोकेर उठाए। पत्नीले गरेकी रहिछन्। जवाफ फर्काए, 'बाटोमा छु, २०–२५ मिनेटमा आइपुग्छु।' 
देउनियापुल तर्न नपाउँदै उनीमाथि विपत्ति बजारियो। ट्रकड्राइभरको गल्तीले जीवन नै भँड्खालोमा धकेलियो। प्राणै लिने प्रयास गरेको थियो, चालकले, धन्न बाँच्न पाए। पूरै किच्न नभ्याएपछि ट्रक भागेको सम्म बस्नेतलाई याद छ। त्यसपछि आँखावरिपरि अँध्यारो छायो।
स्थानीय एक सज्जनले बाइकमै बिर्तामोडतिर हान्निँदै गरेको ट्रक पछ्याए। गाउँलेले एम्बुलेन्स बोलाए, बस्नेत परिवारलाई खबर गरे। ट्रकसहित चालक मुक्तिचोकमा समातियो। 
होस खुल्दा बस्नेतले आफूलाई सिलिगुढीस्थित अस्पतालमा पाए। डाक्टर भनिरहेका थिए, 'दाहिने खुट्टा काट्नुपर्छ। यसका लागि काठमाडौंको बी एन्ड बी अस्पताल जानु राम्रो।' 
डाक्टरको आवाज उनीमाथि चन्द्रागिरि पहाड घोप्टिएझैं भयो।
सिलिगुढीको पारामाउन्ट अस्पतालबाट काठमाडौंका लागि एम्बुलेन्स चढ्दा छेउमा छोराछोरी थिए। पत्नी सुँकसुँकाइरहेकी थिइन्। उनी पनि थामिन सकेनन्। 'गरेर खाने उमेरमा खुट्टै नहँुदा पत्नी र छोराछोरीका लागि के गर्न सकूँला?,' त्यो क्षण सम्झँदा उनको गला अवरुद्ध हुन्छ, 'जिन्दगी अब सकिएछ, सर्वस्व लुटियोजस्तो लाग्यो।' 
दुई दाजुभाइले विदेशबाट पठाएको पैसाले आमाबाबुसहित दुई लालाबाला हुर्काइरहेका थिए उनी। कष्टप्रद अस्पताल बसाइ, प्रहरीको चरम असहयोग र ट्रक मालिकको दादागिरी एकसाथ सहनुपर्योथ। '३७ दिन त आइसियुमा मात्रै बसेँ,' उनले भने, '६३ दिन अस्पताल बस्दा २० लाखभन्दा बढी सकियो। खुट्टा त गयो–गयो, सम्पत्तिका नाममा रहेको सिरिखुरी पनि बचेन।' 
डिस्चार्ज हुने बेला चिकित्सकले कृत्रिम खुट्टा लगाउन मिल्ने बताएपछि उनलाई केही सास आएजस्तो भयो। तर, काम गर्न मिल्ने खुट्टालाई ६ देखि १२ लाखसम्म पर्नेरहेछ।
कानुनअनुसार त्यो सबै खर्च यातायात धनी (समिति) ले बेहोर्नुपर्थ्याे। तर, उनलाई कानुनले पनि जाल हान्यो। प्रहरी मिलेमतोमै चालक र साहु उम्काइए, उनको न्याय खोसियो, क्षतिपूर्तिको आसै लुटियो। 
'त्यत्रो रकम खर्च हुँदा पनि गाडीवालाले एक रुपैयाँ दिएन,' बुबा पुष्कर बस्नेतले भने, 'निमुखाले गुहार माग्ने ठाउँ प्रहरी हो, उही नै पीडकसँग मिलिदियो।' अहिले उनीहरु उपचारखर्च पाऊँ भनी अदालत गुहारिरहेका छन्। 
दुर्घटनाकै दिन गाउँलेले समातेर बुझाएका को१ख ३३५४ नम्बर ट्रकका चालक विदुर दाहाललाई प्रहरीले २४ घन्टा नबित्दै छाडिदिएको थियो। विराटनगर बस्ने गाडीमालिक अशोक पोद्दार घटनाको पाँचौं दिन बिर्तामोड आए। बिर्तामोड प्रहरीका तत्कालीन प्रमुख डिएसपी भुवनेश्वर तिवारीको उपस्थितिमा युधिरकी पत्नी निर्मलाले आग्रह गरिन्, 'जे नहुनु भइसक्यो, अब तपाईंले उपचार गरिदिनुपर्छ।' पोद्दारले कर्कश जवाफ फर्काए, 'म उपचार गरिदिन सक्दिनँ, बरु मेरो पनि दाहिने खुट्टा काटिदिनुस्।' 
रुखो वचनले निर्मलाको मुटु बटारियो। आइसियुमा छटपटिँदै गरेका पतिकी अबला स्त्री आशाको नजरले डिएसपीतिर फर्किइन्। 'डिएसपी केही बोलेनन्। पहिल्यै सेटिङ मिलिसकेको रहेछ, त्यसैले दोषीलाई उम्काए।'
चालक र साहु दुवैलाई जमानतबेगरै छाडिदियो प्रहरीले। 'अब एक–दुई दिनमै गाडीवाला पैसा लिएर आउँछ, ढुक्क हुनुस्,' डिएसपी तिवारी बस्नेत परिवारलाई यसो भन्दै अल्झाउँदै थिए। तर, त्यो दिन आएन। निर्मला गाउँले लिएर प्रहरी कार्यालय पुगिन्। 
'त्यसपछि त तिवारी झन् कड्किए, अब केही गर्न सक्दिनँ, आफैं पैसा असुल्नू, मुद्दा हाले पनि हुन्छ भन्दै बम्किए,' निर्मला सम्भि्कन्छिन्। न्यायका लागि कहिले प्रहरी त कहिले नेताका ढोका ढकढक्याउँदै डेढ वर्ष बितिसक्यो।
'एक त उमेर छँदैदेखि यस्तो जिन्दगी बाँच्नुपर्योत, सम्पत्ति पनि सकियो,' १३ वर्षे छोरा र ७ वर्र्षे छोरीका पिता युधिर भन्दै थिए, 'अर्कातिर प्रहरीदेखि नेतासम्मले मिलेमतोमा गाडीवालालाई उन्मुक्ति दिलाए।' 
'बरु उतिबेलै ट्रकको टायरमुनि परेको भए...,' न्यायको लडाइँमा पाएको सास्ती सम्झेर उनी पिरलिन्छन्। यसो भनिरहँदा उनका गह टिलिपिलाइरहेका थिए। छोरीलाई स्कुल पठाउने तयारी गरिरहेकी पत्नी सलले आँखा पुछिरहेकी थिइन्।
अबोध सानी छोरी भने एकतमास हाँसिरहेकी थिइन्।

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment