गोरखा । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका फरार अभियुक्त रामप्रसाद अधिकारीलाई चितवन प्रहरीले अन्तत: उनले प्रयोग गरेको मोबाईल फोन ‘ट्रयाक’ गरेर पक्राउ गरेको छ।
शनिबार काठमाडौँको बालाजुबाट पक्राउ परेका अधिकारीलाई प्रहरीले आईतबार चितवन अदालतमा उपस्थित गरिसकेको छ। अधिकारी कृष्णप्रसादको हत्यामा किटानी जारि परेका १३ जना मध्येका हुन्। त्यसमध्ये ११ जनालाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराईसकेको छ। अधिकारी र अर्का अभियुक्त रुद्र आचार्य भने अदालतको वारेन्ट छल्दै फरार थिए।
आचार्य भागेर लन्डन पुगिसकेका छन्। उनका बिरुद्द नेपाल प्रहरीले ‘रेड कर्नर नोटिस’ जारि गरेको छ। आचार्य हत्याका मुख्य योजनाकार मध्ये भएको प्रहरीको अनुमान छ।
अधिकारी भने लामो समयदेखि राजधानीका विभिन्न स्थानमा ठाउँ सर्दै प्रहरीको आँखा छल्दै आएका थिए। सेतोपाटीसँग कुरा गर्दै चितवन प्रहरी एसपी शकुल थापाले भने, ‘पछिल्लो पटक उनी राजधानीको बागवजारमा न्यू लुम्बिनी कम्युनिकेशन खोलेर बसेको सूचना प्राप्त भएको थियो। हामीले थप बुज्दा उनी पसल बेचेर हिडिसकेका रहेछन।’
प्रहरीले खोजि भने जारि राख्यो। फेरी अर्को सुत्र फेला पर्यो– फोन नम्बर। त्यसपछि लामो समयसम्म प्रहरीले त्यो फोन “ट्रयाक” गर्यो। उनी आरोपित अभियुक्त नै हुन् कि होइनन, कहाँ बस्छन सबै टुंगो लगाएपछि शनिबार चितवन प्रहरीको टोली आएर उनलाई पक्राउ गरेको हो।
अधिकारीले बालाजुमा रासन र कम्युनिकेशनको पसल चलाएर बसेको प्रहरीले जनाएको छ।
‘”अधिकारीको फोन ‘ट्रयाक’ गरेरै उनलाई पक्रन सम्वभ भएको हो,’ एसपी थापाले सेतोपाटीसँग भने।
नन्दप्रसाद र गंगा माया अधिकारीका १८ बर्षीय छोरा कृष्णप्रसाद अधिकारीको एसएलसी दिएर मामाघरमा बसेको बेला २०६१ सालमा चितवनका माओवादी कार्यकर्ताले हत्या गरेका थिए।
गोरखाको फुजेल–७ बस्ने अधिकारीको २०६१ जेठ २४ गते चितवन जिल्ला रत्ननगर नगरपालिका–१ बकुलहरचोकमा गोलि हानि हत्या भएको थियो। यस सम्बन्ध अनुसन्धान गर्न खटाइएको प्रहरीको टोलीले घटनास्थल र आसपासका क्षेत्रमा गई बुझ्दा सो दिन दिउँसो कृष्णप्रसादलाई नम्बर याद नभएको मोटरसाइकलमा आएका दुईजना व्यक्तिले जबरजस्ती मोटरसाईकलमा राखेर लगेका थिए। साँझ उनी बकुलहरचोकस्थित राजमार्ग सडक किनारामा मृत अवस्थामा फेला परेका थिए। उनीलाई दुई राउण्ड गोली हानिएको थियो।
छोराको हत्यारामाथि कारवाहीको माग गर्दै अधिकारीका बुवा नन्द प्रसाद र आमा गंगामाया ३३२ दिनसम्म अनसन बसेका थिए। यो नेपालकै इतिहासमा सबैभन्दा लामो अनसन हो। नन्द प्रसादको अनसनकै क्रममा गत असोजमा मृत्यू भएको थियो।
आमा गंगामायाले सरकारको आस्वाशन पछि अन्नशन तोडेकी छन्। तर, आस्वाशन पूरा नगरेको भन्दै नन्दप्रसादको सतगति गर्न उनले अस्वीकार गर्दै आएकी छन्। नन्दप्रसादको सव अझै पनि महाराजगंजस्थित टिचिङ अस्पतालमै छ।
0 comments:
Post a Comment